चितवन । भरतपुर महानगरपालिकाले बिहिबार दुग्ध कृषकहरुलाई अनुदान हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नेरेन्द्र कुमार रानाले कृषकलाई संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभयो । आर्थिक वर्ष ०७९/०८० दुग्ध सहकारीमा आवद्ध कृषकहरुले संकलन गरेको २ करोड ४ लाख लिटरको प्रति लिटर रु ३ रुपैयाँका दरले रु ६ करोड १२ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
आर्थिक वर्ष ०७४/०७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलो पटक अनुदान दिन सुरु गरेको थियो । महानगरपालिकाले ०७४/०७५ बाट २५ पैसाबाट अनुदान दिन सुरु गरेको थियो । गत आर्थिक वर्षमा ८ हजार ७ सय ३५ जनाले अनुदान पाएकोमा चालु आर्थिक वर्षमा ११ हजार ५ सय ३४ जनाले अनुदान लिएका छन् । अनुदान लिने कृषकको संख्या वृद्धि हुनु यो अनुदान प्रभावकारी बनेको पुष्टी भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुरको दूध उत्पादनमा वृद्धि गर्न प्रोत्साहन गर्ने उदेश्यसहित २५ पैसाबाट सुरु गरिएको अनुदान प्रभावकारी देखिएको उल्लेख गर्नुभयो । प्रदेशले दिने अनुदानलाई महानगरमार्फत रु ५ दिने गरी व्यवस्था मिलाउने अनुुरोध गरिएको पनि बताउनुभयो । भरतपुर महानगरपालिकाले कृषकहरुलाई लक्ष्ति गरी पशु स्वास्थ्य घरदैलो उपचार, गोठ सुधार, पशु खरिदमा अनुदान, बाख्रा, बंगुर तथा हाँस वितरण गरिएको बताउनुभयो ।
यस्तै विभिन्न यात्र उपकरण, प्राविधिक तालिम, ५ सय वटा काउ म्याट लगायतका समाग्री वितरण गरिएको उल्लेख गर्नुभयो । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले कृषकहरुलाई थप व्यवसायीक बनाउन अनुदानले सहयोग पुराउने बताउनुभयो । महानगरपालिकाले उत्पादन वृद्धि गर्ने नीति लिए अनरुप कृषिमा आधुनिकरणतर्फ जाने कार्यक्रमहरु ल्याईएको उल्लेख गर्नुभयो ।