चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुद्धिचाल खेलको प्रवर्द्धन गर्न महानगरपालिका सकारात्मक रहेको बताउनु भएको छ ।
भरतपुर महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा बिहिबारदेखि सुरु भएको भरतपुर मेयर कप, चितवन जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगीताको उद्घाटन गर्दै प्रमुख दाहालले अन्य खेल सरह बुद्धिचाल खेललाई पनि प्रवद्र्धन गरिने उल्लेख गर्नुभयो ।बुद्धिचाल खेल राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय रहेकाले यो खेलको महत्व पनि उतिकै रहेको बताउनुभयो ।
भरतपुर महानगरपालिका देशका ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेलकुद गतिविधि गर्नेमा उत्कृष्ट पालिकाका रुपमा पुरस्कृत भएको बताउनुभयो । भरतपुर महानगरपालिकाले पूर्वाधार विकाससँगै शैक्षिक र खेलकुद क्षेत्रमा पनि दिगो विकासको लक्ष्य अगाडि सारेको प्रमुख दाहालको भनाई छ ।खेल क्षेत्रको विकासको लागि एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदानको नीति लिएको बताउनुभयो ।
मेयर दाहालले अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेटलाई पनि छिटोभन्दा छिटो निर्माण गर्न सक्रिय पहल भईरहेको पनि उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय महासचिव धर्म लामाले चितवनको बुद्धिचाल खेल प्रवद्र्धन गर्न प्रशिक्षकको व्यवस्था गर्न तयार रहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले बृद्धिचाल खेललाई प्राथामिकतामा राखेको खुसी व्यक्त गर्नुभयो ।
प्रतियोगिताका संयोजक मोहन श्रेष्ठले प्रतियोगितामा ७५ जनाको सहभागिता रहेको बताउनुभयो । भरतपुरको बोष्टन कलेजमा बिहिबारदेखि सुरु भएको प्रतियोगिता ३ दिनसम्म चल्ने छ । प्रतियोगितामा प्रथम, दितिय र तृतिय हुनेले क्रमश : १५, १० र ५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै जिल्ला पालिकामा उत्कृष्ट खेलाडीले रु ३ हजार प्राप्त गर्ने छन् । कार्यक्रम नगर खेलकुद समितिका अध्यक्ष विकास श्रेष्ठ अध्यक्षतामा भएको थियो ।