चितवन । चितवनकाे कालिका नगरपालिकाले नगर भित्रका विपन्न एकल महिलालाई प्रजनन् याेग्य बाख्राकाे पाठी वितरण गरेकाे छ ।
आयआर्जन मार्फत आर्थिक अबस्थामा सुधार ल्याउने उद्देश्यले नगर भित्रका ४४ जना महिलाहरुलाई जनही एक एक वटा पाठी वितरण गरिएकाे हाे । कालिकाका मेयर विनाेद रेग्मी, उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले सयुक्त रुपमा बाख्रा हस्तान्तरण गरेका थिए ।
विपन्न एकल महिलाहरुकाे छनाैट गरि साे नगरपालिकाले तीनदिने बाख्रापालन तालिम दिएर व्यवसायिक रुपमा बाख्रापालनकाे सुुरुवातकाे लागि विउपूँजिका रुपमा प्रजनन् याेग्य पाठी वितरण गरेकाे हाे । साे अबसरमा मेयर रेग्मीले नगर भित्रका एकहजार बढी एकल महिलाबाट विपन्नकाे पहिचान गरि बाख्रा वितरण गरिएकाे बताए ।
उपमेयर तामाङले आर्थिक अबस्था कमजाेर भएका महिलाकाे सीप विकास मार्फत आयआर्जनका लागि तालिम दिएर बाख्राकाे पाठी वितरण गरिएकाे बताइन् । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बाख्रापालन व्यवसायिक रुपमा अगाडि बढाउनेलाई गाेठ व्यवस्थापनमा समेत सहयाेग गर्ने बताए ।
उपमेयर तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामाजिक विकास समितिका संयाेजक मकरमान श्रेष्ठ, नगर स्तरीय एकल महिला समन्वय समितिकी अध्यक्ष राधिका अर्याल,सुचना अधिकारी प्रकाश पाैडेल लगायतले मन्तव्य राखेका थिए ।