चितवन। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक चालु आर्थिक वर्ष २०७९/८०मा आएका छन्।
भूकम्प, नाकावन्दी, कोरोना भाइरसको महामारी पछि पहिलोपटक निकुञ्जमा ठूलो संख्यामा पर्यटकहरु आएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म २ लाख ६३ हजार पर्यटकहरूले निकुञ्ज भ्रमण गरेका छन्।
चालु वर्षमा १ लाख ८७ हजार २ सय १७ नेपाली, सार्क देशका २७ हजार ८ सय ७४ र तेस्रो मुलुकका ४८ हजार ७ सय १५ पर्यटकले निकुञ्ज घुमेको तिवारीले बताए ।
गत आर्थिक वर्ष सबैभन्दा धेरै १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए। पछिल्लो १० वर्षमा सबैभन्दा कम आ.व. २०७२/७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आ.व. २०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए।