चितवन । भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले अब्बल खेलाडी उत्पादन गर्ने महानगरको लक्ष्य रहेको बताएका छन् ।
पछिल्ला बर्षहरुमा महानगरपालिका सबै क्षेत्रमा अब्बल साबित हुँदै गएको भन्दै उप प्रमुख अधिकारीले खेल क्षेत्रमा पनि हाम्रो महानगरलाई अब्बल बनाउने योजना रहेको उल्लेख गरे ।
वडा खेलकुद विकास समिति भरतपुर–१२ को आयोजनामा आज देखि शुरु भएको अन्तर टोलस्तरीय नकआउट फुटबल प्रतियोगिताको उद्वघाटन गर्दै उप प्रमुख अधिकारीले महानगरपालिका एक वडा एक खेल मैदानको अबधारणामा अगाडि बढेको समेत प्रष्ट पारे ।
प्रतियोगितामा भरतपुर–१२ का २३ वटा टोल मध्ये १७ वटा टोल सहभागी भएका छन । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि प्रतियोगिता सन्चालन गरिएको छ । प्रतियोगिता रामबेल सामुदायिक वनको मैदानमा आयोजना गरिएको छ ।
अन्तर टोलस्तरीय फुटबलमा कालिका र सहयोगी टोलको विजयी सुरुवात
प्रतियोगिताको पहिलो दिन आज दुई खेल सम्पन्न भएका छन् । रामवेल सामुदायिक वनको मैदानमा भएको पहिलो खेलमा कालिका टोलले पोख्रेली टोललाई टाइब्रेकरमा पराजित गर्यो ।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो । टाइब्रेकरमा कालिका टोल २-१ ले विजयी भयो । कालिकाका सन्जय श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
यस्तै आजै सम्पन्न दोस्रो खेलमा सहयोगी टोलले राधाकृष्ण टोललाई ३-१ ले निराश बनायो । सहयोगी टोललाई जिताउन दुई गोल गरेका मौसम दराई म्याम अफ दि म्याच घोषित भए ।
प्रतियोगितामा बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ बजे आनन्द टोल र कस्तुरी टोल भिड्नेछन् । यस्तै दोस्रो खेलमा दिउँसो ४:१५ बजे गौरीगाउँ टोल र सुनगाभा टोल भिड्ने वडा खेलकुद बिकास समिति भरतपुर १२ का उपाध्यक्ष कृष्ण कार्कीले बताए ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।