चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताउनु भएको छ । भरतपुर–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै प्रमुख दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गर्नुभयो ।
कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने खाद्यन्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जाने बताउनुभयो ।कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँको भनाई थियो ।
प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाई र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाई र बीउको प्रबन्ध मिलाएको बताउनुभयो ।
भरतपुर महानगरपालिकाले लिएको नीति अनुरुप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यन्त्रिकीकरणलाई जोड प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालले बताउनुभयो ।महानगरपालिकाको आगामी ४ वर्षभित्र सबै ठाँउमा सिँचाईको व्यवस्था हुने भएकाले उत्पादन वृद्धि हुने पक्का भएको धारणा राख्नुभयो ।
दुई वटा बोरिङको उद्घाटन
बुधबार महानगरपालिका प्रमुख रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्राणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गर्नुभयो । भरतपुर २२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदमपोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाईको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गर्नुभयो ।
भरतपुरमा ९ हजार हेक्टरमा सिँचाईको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा हालसम्म २१ सय हेक्टरमा सिँचाँईको व्यवस्था भईसकेको उहाँको भनाई छ । एउटा डिप बोरिङले ३५ विघा खेतलाई सिँचाई गर्न पुग्छ ।
१५ जनालाई बाख्रा वितरण
भरतपुर २२ का १५ घरधुरीलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्सहान गर्न एक परिवार दुई बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख दाहालले बाख्रा वितरण गर्नुभयो ।
भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका कृषिको व्यवसायीकरणको क्रममा ठुला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याईएको बताउनुभयो । निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले २ वटाका दरले बाख्रा पाउने छन् ।युवा लक्ष्ति कार्यक्रममार्फत १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् ।
९० क्विन्टल धानको बीउ वितरण
भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ । भरतपुर २१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गर्नुभयो ।
महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २ सय ३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई बीउ वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।