चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका सबै सामुदायिक विद्यालयलाई नारायणी माविको जस्तै आर्कषण बनाउनेतर्फ महानगरपालिकाको ध्यान रहेको बताउनुभएको छ ।
भरतपुर २५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय शोसीमा आयोजित विद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै देशमै पहिलो र दोस्रो स्थानमा नारायणी मावि हुनु भरतपुरको लागि गर्वको विषय भएको उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिकाको एक वडा विद्यालय एक नमुना विद्यालय, एक कक्षा कोठा एक शिक्षक ,स्वेमसेवक शिक्षा, दरबन्दी मिलन जस्ता कार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुँदै गएको बताउनुभयो ।प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयमा भईरहेको विद्यार्थीको संख्या वृद्धि नै यसको मानक भएको उहाँको भनाई थियो ।अहिले विद्यार्थीको संख्या वृद्धि भएकाले धेरै जसो विद्यालयमा भवनहरु थप निर्माण गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिनुभयो ।
भरतपुरका २ हजार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । भरतपुरका ६ वटा विद्यालयमा अध्ययन गर्ने ईसिडीदेखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख दाहालले वितरण गर्नुभयो ।भरतपुर वडा नम्बर २५ मा रहेको शोसी माध्यमिक विद्यालयका विद्यार्थीलाई सो सामाग्री दिएर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
साझापुर माविमा ३५५ जना, शोसी माविमा ४३६ जना, हिमालय दण्डपाणी माविमा २७८ जना, मोहन माविमा ४१४, सिद्धि जनकल्याण आद्यारभूत विद्यालयमा १४५ जना र ईन्द्रपुरी माविमा १०० जनाले सो सामाग्री पाएका छन् ।