नवलपुर । नारायणगढ–बुटवल सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले तेस्रो पटक म्याद थपिदिन माग गरेको छ । हालसम्म २६ प्रतिशत मात्रै काम गरेको चिनियाँ ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न माग गरेको हो । आगामी भदौ २२ गतेसम्म काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउँदै कम्पनिले यसअघि दोस्रो पटक म्याद थप गरेको थियो ।
दोस्रो पटक थपिएको अवधिमा जम्मा २ प्रतिशत मात्र काम गरेको ठेकेदारले फेरि डेढ वर्ष म्याद थप्न सडक विभागसँग माग गरेको छ । चिनियाँ ठेकेदार कम्पनीका कन्सल्टयान्ट इन्जिनियर राकेश झाले म्याद थपका लागि सम्वद्ध पक्षसँग सम्वाद भइरहेको जानकारी दिए ।
कोरोना कालमा करिब डेढ वर्ष कामै नभएका कारण पटक पटक म्याद थप्न परेको उनले दावी गरे । सडक विभागका दाउन्ने गैडाकोट खण्डका प्रमुख इन्जिनियर आषिश थापा मगरले म्याद थप्ने बारे चिनियाँ ठेकेदारले कन्सल्टयान्ट इन्जिनियर मार्फत प्रस्ताव गरेको बताए । सडक निर्माणको लागत नबढ्नेगरी म्याद थपबारे छलफल भएको उनले बताए ।
नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने डाँडादेखि पश्चिम एक भाग र दाउन्ने देखि पूर्व अर्को भाग गरेर काम अघि बढाएको छ । हाल दुवै खण्डमा कछुवा गतिमा काम भैरहेको छ । दाउन्नेदेखि पूर्व गैडाकोट सम्मको क्षेत्रमा आजसम्म जम्मा ६ किलोमिटर एकतर्फी सडक पिच भएको छ । बजार क्षेत्रमा ६ लेन, जंगलमा ४ लेन र दाउन्ने पहाडमा ३ लेनको काम भइरहेको छ ।