चितवन। चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको वन्यजन्तुको सङ्ख्या वृद्धि भएको छ। मृग, जरायो, लगुना, चित्तल, बँदेललगायतका जनावर वृद्धि भएको हो।
आहारा प्रजातिको अवस्था प्रतिवर्ग किलोमिटर ९९ दशमलव ७ प्रतिशत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। “एक वर्ग किलोमिटरमा एउटा प्रजाति भएको अवस्था छ। यो भनेको धेरै राम्रो सङ्ख्या हो। गत वर्ष ७९ प्रतिशत रहेको थियो भने अहिले वृद्धि भएको छ,” उहाँले भन्नुभयो।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले १२८ वटा पाटेबाघ छन्। यी बाघलाई निकुञ्जभित्र आहारा प्रशस्त भएकाले अब मानव बस्तीमा प्रवेश हुने अवस्था घट्ने उहाँले बताउनुभयो। निकुञ्जका अनुसार विश्वमै लोप हुने अवस्थामा रहेको बाघलाई निकुञ्जले संरक्षणको कार्यक्रम ल्याएर सङ्ख्या वृद्धि गर्दै लगेको छ।
निकुञ्जमा १२८ बाघ
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढिरहेको छ। सन् २००० मा निकुञ्जमा ६० वटा बाघ रहेकामा सन् २०१० मा ९१ पुगेको थियो। सन् २०१० देखि सन् २०२० को अवधिमा बाघको सङ्ख्या १२० वटा पुगेर फेरि ९३ वटामा झरेको थियो। सन् २०२२ मा बाघको सङ्ख्या १२८ वटा पुगेको छ। एउटा भाले बाघका लागि ५२ देखि ६२ वर्ग किलोमिटर र पोथी बाघका लागि २६ देखि ३० वर्ग किलोमिटर क्षेत्र आवश्यक हुने निकुञ्जले जनाएको छ।
घाँसे मैदान घट्दै
बजेट अभावका कारण निकुञ्जमा घाँसे मैदान वृद्धि गर्न नसकिएको निकुञ्जले जनाएको छ। कम्तीमा एक वर्षमा तीन पटक घाँसे मैदानको व्यवस्थापन र वृद्धि गर्नुपर्नेमा एक पटकसमेत व्यवस्थापन गर्न कठिन हुने गरेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो।
निकुञ्जमा सन् १९७० को दशकमा कुल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान रहेकोमा सन् २०१५ मा गरिएको सर्वेक्षणबाट क्षेत्रफल घटेर ९ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ। वन्यजन्तुको बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान हुनुपर्छ।
निकुञ्जले घाँसे मैदान व्यवस्थापनअन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित रूपमा आगो लगाउने, ससाना रुख हटाउने, रुखको मुना हटाउने र मिचाहा प्रजाति नियन्त्रण गरी हटाउने कार्यक्रम रहेको छ। निकुञ्जले पुरानो घाँसे मैदानको व्यवस्थापन र नयाँ घाँसे मैदान निर्माण गर्दै आएको छ।
निकुञ्जका अनुसार आव २०७६/७७ मा छ सय हेक्टर घाँसे मैदान निर्माण र ५७ दशमलव ७९ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो। आव २०७७/७८ मा सात सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण र चार सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको थियो।
आव २०७८/७९ मा २५ लाख रुपियाँ खर्चेर ५० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण र ३८ लाख ३५ हजार रुपियाँको लागतमा ३०८ हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापन गरिएको छ। चालु आर्थिक वर्षमा २५ लाख रुपियाँ बजेटमा ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन र ३३ लाख ३७ हजार रुपियाँको लागतमा २२५ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ।
झन्डै सात सय गैँडा
चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघसहित एकसिङे गैँडा, हात्ती, घडियाल गोहीको सङ्ख्या वृद्धि गर्दै लैजाने योजना छ। संरक्षित जनावरमध्ये एकसिङे गैँडाको आहाराको व्यवस्थापनका कार्यक्रमसँगै आहाल, पोखरीको व्यवस्था, घाँसे मैदानलगायतको व्यवस्थापनका कार्यक्रम रहेको कार्यालयका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो।
निकुञ्ज आउने आन्तरिक तथा बाह्य पर्यटकको उद्देश्य पाटेबाघ, गैँडालाई हेर्ने रहेको हुन्छ। जङ्गल सफारीका लागि प्रसिद्ध निकुञ्जमा संरक्षित जनावरलाई असर नपर्ने गरी पर्यटकीय गतिविधि गर्न दिँदै आएको कार्यालयले जानकारी दिएको छ। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा रहेको खबर आजको गोरखापत्रमा छ।