चितवन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले कांग्रेसका नेता कार्यकर्ता एक हुने समय आएको बताउनुभएको छ । महामन्त्री थापाले आज सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बैशाख १० को उपनिर्वाचनमा चितवनका कार्यकर्तालाई दाँयाबाया नगर्न आग्रह गर्नुभएको हो ।
चितवन कांग्रेस भित्र गुनासो रहेको स्वीकार गर्दै पार्टी चुनावी मैदानमा होमिए बेलामा एक जना कार्यकर्ताले पनि दाँयाबाया गर्न नहुने उहाँको भनाइ थियो । उहाँले अघिल्लो चुनावमा जस्तो गल्ती नगर्न पनि चितवन २ का मतदातालाई आग्रह गर्नुभयो ।
थापाले मंसिर ४ मा कांग्रेसकै कार्यकर्ताले पार्टीका उम्मेदवारलाई मत नहालेकोतर्फ ईंगित गर्दै बाहिर बाहिर कांग्रेस भनेर भित्रै भित्रै दाँयाबाया नगर्न अपिल गर्नुभयो । दल भित्र देखिएका समस्या दल भित्र रहेर हल गर्नुपर्ने उहाँको तर्क थियो ।उहाँले सिङ्गो पार्टी बदल्नुपर्ने अवस्था आएको स्वीकार गर्नुभयो । महामन्त्री थापाले कांग्रेस भित्र धेरै कुरा बदलेर नयाँ कांग्रेस बनाइने बताउनुभयो । यो यात्रामा जीतनारायण श्रेष्ठको आवश्यकता रहेको उहाँको भनाइ थियो । चितवन २ बाट श्रेष्ठलाई हराएर रुपान्तरण यात्रा सम्भव हुने उहाँको तर्क थियो ।
कुनै सानो एउटा घटना र लोक रिझ्याँईको राजनीतिबाट प्रभावित भएर सिङ्गो देशको प्रणाली माथि नै प्रश्न उठ्ने अवस्था आउन नदिन उहाँले अपिल गर्नुभयो । उहाँले चितवनलाई कुनै एउटा व्यक्तिको प्रयोगशाला बन्ने अवस्था आउन नदिन पनि आग्रह गर्नुभयो । महामन्त्री थापाले चितवन २ का जनताले श्रेष्ठलाई जिताएर संसदमा पठाउने विश्वास समेत व्यक्त गर्नुभयो ।
थापाले दलहरुको घेराबन्दीका कारण उपनिर्वाचन हुँदैछ भन्ने भ्रममुक्त हुन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले चितवन २ मा भावनाको व्यापार भइरहेको भन्दै भावनाको व्यापारमा बहकिन नहुने बताउभयो । तथ्यमा टेकेर घरभित्र बहस गर्ने मताधिकार प्रयोगको एउटा निर्णयमा पुग्न उहाँले आग्रह गर्नुभयो ।
थापाले अहिले देश नै बिरामी परेको भन्दै अबको पाँच वर्ष खेर जान नदिने बताए। चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । मंसिर ४ मा चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद नगरकिता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बदर गरिदिएपछि यो क्षेत्र उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बन्नुभएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका निवर्तमान सभाति जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने चुनावी मैदानमा हुनुहुन्छ ।