चितवन। रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सबै शक्ति अहिले चितवन क्षेत्र नम्बर २ केन्द्रित गरेका छन्।
आज मंगलबार उनले चितवनमा सबै नेताहरू र सांसदलाई राखेर उनले कोणसभा गर्दैछन्। सबै शक्ति चितवन नै परिचालन गर्नुको कारण हो– यसपटक सो क्षेत्रमा उनको भोट घट्दै छ।
‘मंसिर ४ को जति मत यसपाली रविलाई आउँदैन, भोट घट्छ भन्ने सूचना आएको छ,’ अहिले चितवन क्षेत्रमा खटिएका अर्का केन्द्रिय सदस्यले भने, ‘काङ्ग्रेस–एमालेले स्थानीय उम्मेदवार उठाएकोले दबाब छ। अडिओ प्रकरणले स्थानीयमा शंका जन्माएको छ। मतदाता सचेत भएका छन्। उनीहरु सतर्क हुँदा यसले केही असर पार्छ।’
मंसिर ४ गतेको चुनावमा खासगरी कांग्रेस र एमालेको भोट तानेर चुनाव जितेका रविको कोर टिमको विश्लेषण पनि यसपाली एमाले र काङ्ग्रेस दुवैले आफ्ना सबै मतदाता होल्ड गर्न सक्ने भन्ने छ। यद्यपि लामिछाने चाहिँ अहिलेसम्म चुनाव आफैंले जित्नेमा विश्वस्त देखिन्छन्।
‘न संगठन न सत्ता, एक्लै लड्दाको परिणाम सहज देखिँदैन, यो चुनावले हामीलाई राम्रै पाठ सिकाउने छ,’ रास्वपाका ती पदाधिकारीले थपे।
रास्वपाले तनहुँ र बारामा चुनाव जित्ने आकलन नै गरेको छैन।
तनहुँको उपचुनावमा अर्थविद डाक्टर स्वर्णिम वाग्लेलाई उठाएको रास्वपाले सोही चुनावमा खटिएका सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणले थप संकट निम्तिएको ठहर गरेको छ।
बारा २ मा हुने उपनिर्वाचनमा रास्वपाबाट प्रहरीका पूर्वडीआइजी रमेश खरेल उम्मेदवार छन्। तर, काठमाडौंमै उनी पराजित भएकोले यसपटक जित्ने संभावना कम रहेको नेताहरू बताउँछन्।
‘हाम्रो जित्ने बलियो अधार चितवन २ नै हो, तनहुँ १ मा पनि डाक्टर वाग्ले हुनुहुन्थ्यो तर अडियो प्रकरणले माहोल बिग्रने खतरा छ,’ अर्का एक नेताले भने, ढाकाजीलाई छिटो कारबाही गरेर माहोल फर्काउन खोज्दैछौँ।’
रविको कोर टिममा को को?
सांसद ढाकाकुमारको बाहिरिएको टेपमा उनले रविको कोर टिमले आफुसँग मन्त्री बन्नका लागि दुई करोड घूस मागेको बताएपछि अहिले रास्वपाभित्र पनि कोर टिमका सदस्यहरूबारे अनुमान र चर्चा बढेको छ।
रास्वपाका केही नेताहरूका अनुसार सभापति रविको ‘कोर टिम’ मा केन्द्रीय सदस्य दीपक बोहरा र उपसभापति डोलप्रसाद अर्याल छन्। रास्वपा सरकरमा हुँदा श्रममन्त्री रहिसकेका अर्यालले टेप प्रकरणमा ढाकामाथि कारबाही नगर्ने गरि छानविन समिति मात्रै बनाउन प्रस्ताव गरेका छन्।