चितवन । माडी नगरपालिकाको वडा न -२ भैरवपुरमा आज सम्पन्न निःशुल्क पशु स्वास्थ्य शिविरमा ९२ जना पशुपालक कृषकका ४४० वटा पशु चौपायाहरुको उपचार भएको छ ।
‘स्वस्थ पशुपंक्षी, स्वस्थ जीवन, समुन्नत राष्ट्रको आधार’ भन्ने नारासहित माडीको पशुपालन पकेट क्षेत्रका रुपमा परिचित भैरवपुरमा सम्पन्न निःशुल्क पशु स्वस्थ्य शिविरमा ३१७ वटा गाईभैंसी र १२३ वटा बाख्राको उपचार भएको हो ।
शिविरमा भिडियो एक्स-रे मेसिनबाट गर्भ परीक्षण र डिजिटल ए-आई गनको प्रयोगबाट पाठेघरको मुखको जाँच र बाँझोपनको उपचार पनि भएको थियो । त्यस्तै १० वटा घरपालुवा कुकुरहरुको पनि उपचार गरिएको शिविरमा सहभागी पशु चिकित्सक डा. रबिन बस्ताकोटीले बताउनुभयो ।
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, चितवन शाखा र नेपाल पशपंक्षी औषधी बजार प्रतिनिधि संघ नारायणगढ शाखाको आयोजना एवं पशुपंक्षी तथा मत्स्य विकास शाखा माडी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र भरतपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।