चितवन। भरतपुर महानगरपालिका २९ स्थित पहाडी क्षेत्र चौकीडाँडामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । चौकीडाँडा खानेपानी आयोजनाको आज (बुधबार) भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन ।
आयोजनाको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर २९ को सबै भन्दा ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या सदाका लागि अन्त्य भएको बताइन । यो आयोजना सञ्चालनमा आएसँगै स्थानीयमा खुसीयाली छाएको समेत उनको भनाइ थियो ।
प्रमुख दाहालले यो खानेपानी आयोजनालाई जति सक्दो छिटो भरतपुर खानेपानी व्यवस्थापन बोर्डमा समावेश गरी सञ्चालनमा ल्याउने प्रतिवद्धता समेत व्यक्त गरिन । महानगरले ७ युनिट खानेपानी खपत गर्नेलाई निःशुल्क गर्ने सुविधा यो आयोजनालाई पनि समावेश गराईने उल्लेख गरिन ।
प्रमुख दाहालले पहिलो पटक भरतपुर महानगरपालिका प्रमुखमा निर्वाचित भएर भरतपुर–२९ मा आउने क्रममा यहाँका स्थानीयले सडकभन्दा पहिला खानेपानीको माग गरेकाले खानेपानीलाई प्राथामिकतामा राखेर काम गरेको स्मरण गरिन । यस अघि भरतपुर–२९ कै ढोडेनी लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आईसकेको छ ।