चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोहेरो झमेलामा फसेका छन् । उनीविरुद्ध सर्वोच्च अदालतमा पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा रहेको छ भने चितवन क्षेत्र नम्बर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीबारे चार वटा उजुरी परेका छन् । लामिछानेले चैत २० मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ बाट मनोनयन दर्ता गराएका थिए ।
लामिछानेविरुद्ध मंगलबार परेका ४ वटा उजुरीलाई आज बुधबार टुंग्याइने भएको छ । ३ वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेलले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । अन्य ३ जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका छन् ।
यसैगरी युवराज सफलले नै दायर गरेको मुद्दामाथि सर्वोच्चमा बुधबार सुनुवाइ हुँदैछ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार पेशी तोकिए पनि हेर्न नमिल्ने भएपछि बुधवारका लागि सुनुवाइ तय भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
रास्वपाका सभापति लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदन सोमवार दर्ता भएको थियो ।