चितवन । यही बैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने बिरुद्ध चारवटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज ती उजुरी दर्ता भएका हुन ।
तीन वटा उजुरी उम्मेदवार र उनका प्रतिनिधिले गरेका हुन भने एउटा उजुरी कानुन व्यवसायी युवराज पौडेल सफलले इमेल मार्फत दर्ता गराउनुभएको कार्यालयका सहायक निर्बाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो । अन्य तीन जनाले उम्मेद्धार वा उम्मेदवारको प्रतिनिधिल दिने दावि बिरोध अन्तर्गत उजुरी परेको हो ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेद्धार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेद्धार अम्बिका भट्टका प्रतिनिधि शिबहरी सुवेदीले उजुरी दर्ता गराउनुभएको हो ।
आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटि उम्मेद्धार वन्न नपाउने कानुनी प्राबधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचय पत्र रहेकाले नयाँ लिनु पर्ने बिषयमा उजुरी परेका हुन । सफलको भने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १५ बमोजीम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेद्धारको निर्बाचनको परिणाम आउनु भन्दा पहिला योग्यताका बिषयमा जोसुकैले उजुरी दिन सक्ने उल्लेख छ ।
आचार्यले उम्मेदवार र उनका प्रतिनिधिहरुले दिएको उजुरीमा बुधबार दिउँसो ३ वजे सम्म छलफल गरी टुङ्गो लगाईने जानकारी दिनुभयो । सफलले दिनुभएको उजुरीको बिषयमा उम्मेदवारसंग स्पष्टिकरण सोधी निर्वाचन आयोगमा पठाईने उहाँले बताउनुभयो । उप निर्वाचनका लागि यस क्षेत्रमा १२ राजनैतिक दल सहित २४ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसगैँ संसद पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जनाले मतदाता रहेका छन् । उनीहरुले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।