गैँडाकोट । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोला कञ्चनले देशको भृकुटी कागज कारखानासहित अन्य उद्योगहरु बेचेमा त्यहीँ कारखानामै चिहान बनाइदिने चेतावनी दिएका छन् ।
सो पार्टीको केन्द्रीय समितिको जनसंघर्ष परिचालन समितिले नवलपुरको गैँडाकोटमा रहेको भृकुटी कागज कारखानालगायतका उद्योग संरक्षण तथा सञ्चालनार्थ दबाबमूलक अभियान कार्यक्रममा प्रमुखअतिथि रहेका बास्तोलाले सो चेतावनी दिएका हुन् ।
उनले विद्यमान दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण उद्योगका मिसिनहरु बन्द भएको, देशका नेताहरू विदेशी डाँकाहरुको दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भएको र यो व्यवस्था सञ्चालन गर्ने दलाल नोक्करशाही मालिकहरुको दिमागमा दलाल भएकै कारण यस्तो भएको बताए ।
उनले दलाल संसदीय व्यवस्था भनेको पुँजीवादी संसदीय व्यवस्था भएकाले यसको अन्त्य गरेर नयाँ जनवादी व्यवस्थासहित वैज्ञानिक समाजवाद स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए ।
मिटरव्याजी आतंक चलाउने, बैंक तथा लघुवित्तहरुलाई पार्टीले कारबाही अगाडि बढाउने क्रममा सिराहाका सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई पार्टीको नेतृत्वमा कारबाही गरिएको बताउँदै अरु थुप्रै बैंकहरु, लघुवित्तका सञ्चालक र मिटरव्याजीहरुलाई कारबाही गरी बैंकहरुलाई गाउँ र सहरबाट लखेटेर निस्तेज पार्दै नेपाली जनताका लागि नेपाल सरकारको बैंक मात्रै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सभाअध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का केन्द्रीय सचिवालय सदस्य तथा जनसंघर्ष परिचालन समितिका संयोजक उदयबहादुर चलाउने दिपकले फेरि अर्को जनयुद्धको आवश्यकता भएको बताए । उनले भने, जनताको रगत र पसिना एवम् छिमेकी असल मित्र देशहरूको सहयोगमा समेत बनेका उद्योगहरु दलालहरुलाई बेचेर प्रजातन्त्र र क्रान्तिका नाममा भजाएर खाने गद्दार र धोकेबाज लुटेराहरुलाई चोकचोकमा, गाउँगाउँमा न्यायालय गठन गरेर कारबाही गर्नुपर्ने बताए ।