चितवन । चितवन क्षेत्र नं २ मा आगामी बैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेले जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेलाई उमेदवार बनाउने भएको छ ।
एमाले चितवनका सह–सचिव प्रकाश ढुंगानाका अनुसार उपनिर्वाचनमा उमेदवार बनाउनको लागि न्यौपानेको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।
जिल्लाले सिफारिस गरेको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुग्ने छ । केन्द्रले उपनिर्वाचनमा मनोनयन दर्ता गर्नका लागि टिकट दिनेछ । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र नं ३ बाट उमेदवारी दिएका न्यौपानेको उमेदवारी एमाले अध्यक्ष केपी ओलीले काठमाडौँबाटै फिर्ता लिएका थिए ।
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सभापति रवि लामिछाने र नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरिसकेका छन् ।