चितवन। बंगलादेशमा सम्पन्न साफ यु १७ महिला च्याम्पियनसिप खेलेर फर्किएका खेलाडीलाई चितवन जिल्ला फुटबल संघले स्वागत गरेको छ । संघले नेपाली टोलीमा रहेका चितवनका दुई र बाराका एक खेलाडीलाई बिहीबार साँझ स्वागत गरेको हो ।
संघले प्रतियोगितामा सहभागी भएर गृह जिल्ला फर्किएकी गोलरक्षक सुजाता तामाङ र सुशीला भुजेललाई स्वागत गरेको हो ।यस्तै सोही टोलीकी अर्की गोलरक्षक बाराकी करुणा बुढाथोकीलाई पनि संघले चितवनमा स्वागत गरेको छ । उनीहरुलाई संघका अध्यक्ष श्री कृष्ण कार्की, उपाध्यक्ष विजय घले, महासचिव रामहरि ढकाल तथा संघ पदाधिकारी र सदस्यहरुले स्वागत गरे ।सुजाता प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भएकी थिईन् । उनी लगातर दुई पटक साफमा नेपालको उमेर समूहको टोलीबाट उत्कृष्ट गोलकिप्पर घोषित भएकी हुन् । यस अघि बंगलादेशमा नै सम्पन्न महिला साफ यू १५ च्याम्पियनसिपमा नेपालले उपाधि जित्दा पनि सुजाता उत्कृष्ट गोलकिप्पर बनेकी थिईन् ।
संघका अध्यक्ष कार्कीले सुजता र सुशीलाले चितवनसँगै देशकै शिर उच्च पारेको बताउनुभयो । कार्कीले खेलाडीद्धयलाई आगामी दिनमा आवश्यक हरेक किसिमका सहयोग गर्न संघ सधैं तयार रहने बताउनुभयो । कार्कीले खेलाडीलाई चाहिने न्युनतम आधारभूत आवश्यकताको अभावमा खेल छोड्नुपर्ने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।
सुजाताले उत्कृष्ट गोलकिप्पर घोषित हुँदा खुशी लागेको बताउनुभयो । यस पटक उपाधि जित्न नसके पनि टिमले सक्दो प्रयास गरेको उहाँको भनाइ थियो । यस्तै सुशीलाले बलियो टोलीविरुद्ध नेपालले राम्रै प्रदर्शन गरेको बताउनुभयो ।
पाँच टिम सहभागी प्रतियोगितामा नेपाल चौथो भएको थियो। राउन्ड रोबिन लिग पद्धतिमा सम्पन्न प्रतियोगिताका सबै खेलमा जित निकालेको रुस १२ अंकसहित च्याम्पियन बन्यो। दोस्रो स्थानको बंगलादेशले चार खेलबाट सात, भारतले ६ र नेपालले चार अंक जोडेका थिए। पाँचौं स्थानमा सीमित बनेको भुटान जित तथा अंकविहीन रह्यो।