काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ रहने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए ।
वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधि परिवारलाई कांग्रेसमा विरासत परिवारको रूपमा लिइन्छ । महाधिवेशन लक्षित बिहीबारको पौडेल समूहको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी भएका हुन् ।
निधि परिवारका विमलेन्द्र निधिले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेकाले पौडल समूहलाई सो समूहको साथ नरहने भएको छ ।
तर, कोइराला र सिंह परिवारको भने साथ रहने बिहीबारको पत्रकार सम्मेलनमार्फत स्पष्ट भएको हो । बिहीबार कोइराला परिवारका शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला र सिंह परिवारका प्रकाशमान सिंहलाई दायाँ बायाँ राखेर रामचन्द्र पौडेलले पत्रकार सम्मेलन गरेका हुन् ।
गगन थापा खुले पौडेल समूहमा
आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका थिए ।
१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् ।
गत महाधिवेशनमा उनी डा.शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका थिए । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठेका थिए । केसी पनि अहिले पौडेल समूहमै रहेको छ । आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन् । अब पौडेल समूहमा केसी, थापा र कोइराला सँगै भएका छन् ।न्युज कारखाना