चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले २०७२ सालमा निर्माण भएको संविधानमा गरेको दलित सम्बन्धी कानुनको व्यवस्थाले जातिय विभेद न्यूनिकरण हुँदै गएको बताउनुभएको छ ।
५८ औ अन्तराष्ट्रिय जाति भेद उन्मूलन दिवसको अवसरमा संयुक्त दलित संगठन चितवनले भरतपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले १० वर्षे जनयुद्ध, जनआन्दोलनको जगमा निर्माण भएको संविधानले छुवाछुतलाई केही हदसम्म न्यूनिकरण भएर गएको उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले अवस्थामा केही सुधार भएपनि पुरै उन्मूलन नभएकाले थप अधिकारका लागि संघर्षरत रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
विश्वव्यापी रुपमा पुरुषले महिलालाई, गोराले कालालाई, गैरदलितले दलतिलाई, एउटा धर्मले अर्को धर्मलाई भेदभाव हुँदै आएको ईतिहास रहेको प्रमुख दाहालले बताउनुभयो । यस प्रकारका जातिय भेद र छुवाछुत दक्षिण एशियामा सबैभन्दा बढी नेपाल र भारतमा हुने गरेको तथ्य रहेको उहाँको भनाई थियो ।
संघीय गणतन्त्रको संवधिानले स्थानीय तहमा वडागत रुपमा स्वत वडा सदस्य हुने व्यवस्था गरेको भन्दै प्रमुख दाहालले दलितका छोरा छोरीलाई समावेशी सिद्धान्तका आधारमा मन्त्रीहरु, प्रदेश प्रमुख हुन सफल हुनु भएको बताउनुभयो ।
जनयुद्धको प्रथम सहिद दिल बहादुर रम्तेल दलितको छोरा भएको उल्लेख गर्दै उहाँले परिवर्तनको लडाईमा दलित समुदायबाट धेरैले ज्यान गुमाउनु परेको स्मरण गर्नुभयो ।
नेपालको संसदले २०७३ मा छुवाछुत विभेद उन्मुलन घोषणा गरेको छ ।
छुवाछुतजन्य गतिविधि गर्नेलाई ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाखसम्म जरिवाना हुने दण्ड सजाय तोकिएको छ ।
प्रमुख दाहालले छुवाछुत उन्मुलनका लागि वडागत रुपमा कल्सटर बनाएर समुदाय स्तरमा भरतपुरमा ५ ठाउँमा दलित र गैरदलितबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम अगाडि बढाईएको जानकारी दिनुभयो ।
यस्तै प्रमुख दाहालले देशको ७५३ पालिका मध्ये भरतपुर महानगरपालिकाले दलितले गैरदलित विवाह गर्नेलाई पुरस्कार स्वरुप रु १ लाख रुपैयाँ दिदै आएको उल्लेख गर्नुभयो । परम्परागत रुपमा रहेका पेशालाई संरक्षण गर्न पञ्चेबाजा, आरन लगायतका सिपलाई सुदृणीकरण गर्ने गरी कार्यक्रम अगाडि बढाईएको बताउनुभयो ।
भरतपुरलाई छुवाछुत उन्मुलनका लागि जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, भरतपुर विमानस्थल तथा भरतपुर महानगरपालिका कार्यालयमा छुवाछुत गर्नु अपराध हो भन्ने होडिड बोर्ड टासिएको जानकारी दिनुभयो ।