चितवन । चितवनमा त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त गरी १७ वटा क्याम्पस रहेकामा दुई वटामा मात्रै आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । माडी बहुमुखी क्याम्पस र टाँडीको सहिद स्मृति क्याम्पसमा आज स्ववियु निर्वाचन अन्तर्गत मतदान भैरहेको हो ।
माडीमा आठ वटा विद्यार्थी संगठनहरुको गठबन्धन विरुद्ध एमाले निकटको अनेरास्ववियु एक्लै चुनाव लड्दै छ । सहिद स्मृतिमा भने एमाले, माओवादी र समाजवादी निकटका विद्यार्थी संगठनबीच तालमेल भएको छ ।
अन्य क्याम्पसहरुमा अनिश्चितकालका लागि चुनाव स्थगित गरिएको छ । निर्वाचन गराउन सहज वातावरण नभएको भन्दै निर्वाचन अधिकृतहरुले निर्वाचन स्थगित गरेका हुन् । विद्यार्थी संगठनहरुले विभिन्न माग राखेर अवरोध गरेपछि चुनाव स्थगित भएका हो ।
निर्वाचन स्थगित हुनुमा विद्यार्थी संगठनहरुले एकले अर्काेलाई दोषारोपण गरेका छन् । कतिपय क्याम्पसले मनोमानी ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएकाले समस्या भएको एमाले निकटको अनेरास्ववियु चितवका सह–संयोजक हरी आचार्यले बताए । ‘हामी चुनाव चाहान्छौँ । माडीमा आठ वटा संगठनको गठबन्धन विरुद्ध पनि हामी एक्लै लड्दै छौँ । निश्पक्ष ढंगले निर्वाचन हुनुपर्छ, कसैले सत्ताको दुरुपयोग गर्न हुँदैन भन्ने हाम्रो भनाइ हो’, उनले भने ।
नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष राजेश भुसालले केहि दिन तलमाथि भएपनि चुनाव हुनुपर्ने बताउँछन् । उनका अनुसार जिल्लाका तीन वटा आंगिक क्याम्पसमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि चुनाव हुन सकेन । अन्य क्याम्पसमा पनि सहमति हुन नसक्दा चुनाव हुन नसकेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी आनन्दवंश न्यौपानेले विद्यार्थी संगठनबीच सहमति हुन नसक्दा १५ क्याम्पसमा आज चुनाव हुन नसकेको बताए । ‘सुरक्षा व्यवस्था राम्रो भएपनि राजनीतिक सहमति हुन नसक्दा जिल्लाको दुई वटा क्याम्पसमा मात्रै मतदान हुने भएको छ’, उनले भने ।