चितवन । चितवनका तीन ठुला क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पस ,बाल कुमारी र सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । तीन वटै क्याम्पसले शुक्रबार छुटाछुट्टै प्रेस विज्ञप्ती जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ ।
तीन वटै क्याम्पसको स्ववियु निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार पूर्व प्रकाशित कार्यतालिका बमोजिम चैत ५ गते हुने भनिएको निर्वाचन सम्पन्न गर्न सम्भव नदेखिएकाले तत्कालका लागि स्थगित गरिएको प्रेस विज्ञप्तीमा जनाएको छ । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विभिन्न माग राख्दै सत्ता गठबन्धन निकटका विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए । क्याम्पसले निर्वाचनका लागि अनुकुल वातावरण सिर्जना गर्न गराउन सम्पूर्ण विद्यार्थी संघ संगठन र सरोकारवालाई अनुरोध गरेको छ ।