म्याग्दी। एनआईसी एसिया बैंकका कर्मचारीमाथि दुर्गा प्रसाई समर्थक बैंकविरोधी प्रर्दनशनकारीले कुटपिट गरेका छन्। गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र सहायक प्रकाश आलेलाई आक्रमण गरेका छन्।
बैंकका कर्मचारीमाथि नियोजितरुप आक्रमण गरिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ। ‘सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको घटनाको सिबिफिन घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।
परिसंघले यस्ता घट्नामा संलग्नलाई कारवाहीको माग गर्दै भेनेको छ, ‘निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथि गरिएको ज्यादति र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारवाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं।’
यसअघि जाजरकोट जिल्लामा कर्मचारीमाथि दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा धरपकड गर्ने काम प्रर्दशनकारीले गरेका थिए।
बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि हुने यस्ता दुर्व्यहावहार, लुटपाट, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दिनप्रति दिन बढ्दै गएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण बताएको छ।
वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय उसले आग्रह गरेको छ। विश्व अर्थतन्त्रमा आएको मन्दी र अन्य आन्तरिक कारणले मुलुकको अर्थतन्त्र शिथिल भएको समयमा बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको हमलाप्रति परिसंघले विरोध जनाएको छ।