चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढ्नेमा ढुक्क हुन आग्रह गरेकी छन् । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय खेलमा नेपालले जित हासिल गरेसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।
नेपाल र यूएई बीचको खेल हेर्न टियु क्रिकेट मैदान पुगेकी मेयर दाहालले भरतपुरमा निर्माणाधीन रंगशालाको विषयमा केहि दिनमै खुसीको खबर सुन्न पाइने बताएकी छन् । ‘ढुक्क हुनुस्, भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्छ । केहिदिनमा खुसीको खबर सुन्न पाउनुहुनेछ’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर–१५ मा निर्माण गरेको क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र परेको छ । रकम अभावका कारण रंगशाला निर्माण गर्न नसकिएको भन्दै फाउण्डेशनले निर्माणाधीन रंगशाला भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । रंगशाला बनाउन करिब १८ करोड ऋण लागेको बताइएको छ ।