चितवन । रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न खरिदको लागि आर्थिक सहयोग गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको सहयोगमा त्यहाँ रहेका नेपालीहरुबाट आर्थिक संकलन गरी केन्द्रलाई आर्थिक सहयोग गरेको हो ।
१९औं एनआरएनए ‘डे’ को अवसरमा संकलित आर्थिक सहयोग केन्द्रलाई रु १ लाख ५० हजार रुपैँया शनिवार केन्द्रलाई प्रदान गरिएको हो ।
केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रममा एनआरएनए जापानकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदीले अध्यक्ष केपिकिरण शर्मालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी थिइन् । चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न अभाव भएको थाहा पाएपछि दीपकबाबु नेपालले जापानमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए । केन्द्रका अध्यक्ष शर्माले अभियान अन्तर्गत अहिले सम्म साढे ४ लाख रुपैँया आर्थिक संकलन भईसकेको जानकारी दिए ।
केन्द्रमा हाल १४० जना सीमान्तकृत चेपाङ वालवालिकाले आवासीय सुविधा सहित अध्यायन गरिरहेका छन् । केन्द्रका बालवालिकाका लागि दैनिक ९० किलो चामल सहित तरकारी, नुन, तेल आवश्यक पर्छ । केन्द्र सञ्चालनको लागि मासिक ५ लाख रुपैया खर्च लाग्ने र सो रकम दाँताहरुबाटै सहयोगको रुपमा आउने गरेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता तथा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, चितवन समाजका उपाध्यक्ष ईश्वरी कँडेल , एनआरएनए जानपानकी महिला संयोजक अन्जु भण्डारी, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा लगायतको सहभागिता रहेको थियो ।