काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै नवनिर्वाचित राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताउनुभयो । उहाँले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनका लागि विपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो, जसरी देशलाई नयाँ दिशा देखाउनुभयो, आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ । यसैको मातहत रहेर संविधान सभाको २००७ सालमा विपीले परिकल्पना गर्नुभएको थियो । त्यो संविधान सभाबाट नेपालमा जनताबाट निर्वाचित प्रतिनिधिबाट निर्मित संविधानको निर्माण भएर यो व्यवस्थाको टुङ्गो लागेको छ ।’’
समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘‘अब यो व्यवस्था हामीले चिरस्थायी बनाउँदै यसमा समसामयिक सुधार गर्नुपर्ने भए गर्ने तर यसैलाई हामीले साकार बनाउन कार्यान्वयनमा ल्याउनुपर्छ । देशले पटक–पटकको नयाँ–नयाँ प्रयोग थाप्न सक्दैन र त्या क्षमता नेपालसँग छैन । राष्ट्रलाई उन्नती गर्ने समय चाहिन्छ । राजनीतिक स्थायीत्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ ।,’’ नवनिर्वाचित राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘लोकतन्त्रका लागि साहदत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उहाँहरुको सपना साकार पार्ने प्राण गर्छु । अहिले जनतामा निराशा जस्तो देखिएको छ । जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमिहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतीको बाटो समात्नुपर्छ । सुशासनबाट देशको उन्नती हुन्छ । सुशासन देशले खोजेको छ । प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु । नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलवाड गर्न दिनु हुँदैन ।’’
नवनिर्वाचित राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्यानुभयो । उहाँले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गर्नुभएको थियो । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।