तनहुँ। तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ बितरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ बितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ बितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन्।
प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताइन् । “हालसम्म छ मेट्रिक टन बीउ बितरण गरिसकेका छौँ”, बगालेले भनिन्–‘बाँकी बीउ बितरण जारी छ ।” उन्नत जातको मकैको बीउको मुल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ ।
कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ । व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई २२ मेट्रिक टन आलुको बीउ बितरण गरेको थियो । यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ । एक सय कृषकलाई मौरीसहितको घार प्रदान गरिने कार्यालयले जनाएको छ ।