चितवन । २७औं राष्ट्रिय बालसाहित्य सम्मेलन झुवानीमा सुरु भएको छ । नेपाल बालसाहित्य समाज काठमाडौं आयोजक तथा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बुधवार रत्ननगर– ५ झुवानीमा दुई दिने सम्मेलन सुरु भएको हो ।
जिल्ला तथा काठमाडौंका दर्जनौ साहित्यकार, शिक्षाविद, प्राध्यापक, बाल साहित्यकार, शिक्षक, शिक्षाविभाग, बुद्धिजीविको बाक्लो भेला रहेको सम्मेलनको उद्धघाटन प्रमुख अतिथि भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र प्रसाद रेग्मीले गरे ।
प्रमुख अतिथि रेग्मीले अहिले बालबालिकामा पठन संस्कृति शुन्य रहेको बताए । उनले भने, ‘बालबालिका विद्यालका पुस्तकहरु मात्रै पढ्छन्, बाल साहित्यका पुस्तकहरु कमै मात्रामा पढ्छन् र हेर्छन् ।’
विद्यालका पुस्तकहरु बाहेक कथा, कविता, साहित्यका पुस्तक पढ्ने बानिको बिकाश गर्न विद्यार्थीका शिक्षक तथा अभिभावकहरुलाई उनले सुझाव दिए ।
सिक्ने र सिकाउने उद्धेश्यले दुई दिने सम्मेलनमा कार्यपत्र प्रस्तुती, बालकथा लेखन प्रशिक्षण, बाल कविता लेखन प्रशिक्षण, बाल कथा तथा कबिता बाचन, भित्ते पत्रिका निर्माण प्रशिक्षण, चित्र प्रदर्शन, चित्र लेखन कार्यशाला सञ्चालन हुने बालसाहित्य समाजका अध्यक्ष प्रा.डा. ध्रुवकुमार धिमिरेले जानकारी दिए ।
साहित्यका माध्यमबाट नेपालका करिब ४० प्रतिशत बालबालिका एंव किशोर किशोरीहरुका संज्ञानात्मक तथा भावनात्मक विकास गरी भविष्यका योग्य नागरिक निर्माणमा सहयोग पुग्ने उनको भनाई छ ।
सम्मेलनमा ‘म’ बाल कविता संग्रह र बाल साहित्य पत्रिका लोकापर्ण, कथा, कविता, बाल साहित्यका पुस्तक लेखक, सबैभन्दा धेरै पुस्तक अध्ययन गर्ने व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो ।