चितवन । बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहित जिल्लाका उच्च अधिकारीहरुको टालीले माडीको सोमेश्वरगढी क्षेत्र अवलोकन गरेको छ ।
सोमबार बिहान सोमेश्वरगढी पुगेको अवलोकन टोलीले नेपाल भारत सीमा स्तम्भहरुको तथा सीमा क्षेत्र अनुगमन गर्नुका साथै चैतेदशैं मेलाको सन्दर्भमा सोमेश्वर मन्दिर क्षेत्रको प्रत्यक्ष अवलोकन गरेको हो ।
टोलीमा माडीका नगर उपप्रमुख खेमप्रसाद महतो, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर चितवन नं. १७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शशि पाण्डे, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, निकुञ्ज रक्षक सेनाका कर्णेल लगायत जिल्लाका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबिच, सोमेश्वर पुगेको नेपाली टोलीले भारतीय सशस्त्र सीमा सुरक्षा बलसंग संयुक्त होली मनाएको छ । दुबै देशको साझा पर्व रहेकाले मित्रताको प्रतिक स्वरूप परस्पर रंग लगाई होली मनाइएको प्रदेशसभा सदस्य ढकालले बताउनुभयो ।