चितवन । चितवनमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय चितवनमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवाग्राहीलाई हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने औल्याउनुभयो ।
मेयर दाहालले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउनुभयो । भरतपुर महानगरबासीको सहजताका लागि महानगरपालिका परिसरका छुटै ईकाई बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र हो । नेपाल सरकारले नागरिकका तथ्याडकहरुलाई डिजिटल प्रविधिमा राख्न यो कामको थालनी गरेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले अहिले दैनिक १५ हजार राष्टिय परिचयपत्र छपाईको काम भइरहेको बताउनुभयो । महानिर्देशक पण्डितले अबको एक वर्षभित्र अभियान नै चलाएर दुई करोड नेपालीको तथ्याङक संकलन गर्नेे र दुई वर्षभित्र सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिएको बताउनुभयो । छपाई भएका परिचय–पत्रको वितरण कार्य चितवनबाटै सुरु गरिएको उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवनमा १५ हजार राष्ट्रिय परिचयपत्र छपाई भएर आएको जानकारी दिनुभयो ।राष्ट्रिय परिचय–पत्रलाई स्थानीय तहअनुसार सेवा केन्द्र स्थापन गरी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाईने बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी पौडेलले यसको थालनी भरतपुर महानगरपालिकाबाट सुरु गरी क्रमश सबै पालिकामा विस्तार गर्ने योजना लिएको उल्लेख गर्नुभयो । अब केही समयपछि कुनै पनि काम गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य चाहिने नियम आउने भएकाले छुटेका र यो सेवाबाट बाहिरा भएका नागरिकले सम्बन्धित ईकाईमा सम्पर्क राख्न आग्रह गर्नुभयो ।