काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताउनुभएको छ ।
आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपील गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो । हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामी कसैले पनि कमजोर सावित गर्ने नसक्ने गरी बलियो हुन्छौँ । सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन ।”
यस्तो छ सम्बोधनको पूर्णपाठ
हामी माओवादी आन्दोलनका विभिन्न धाराका प्रतिनिधिहरू यहाँ उपस्थित छौँ । यस फाउन्डेसनले आज दिन खोजेको सन्देश शक्तिशाली सन्देश हो भन्न ठान्दछु । यो कार्यक्रमको अर्थ र महत्व धेरै ठूलो र दूरगामी छ । मैले यहाँ पार्टी अध्यक्षको रूपमा मात्रै नभई प्रधानमन्त्रीको रूपमा समेत बोल्दा नेपाल सरकारका केही महत्वपूर्ण काम र सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राखेको छु ।
केही दिनअघि सहिद तथा बेपत्ता योद्धाका परिवारको तर्फबाट बालुवाटारमा कार्यक्रम भएको थियो । त्यहाँ एकराज भणडारीले सबैको तर्फबाट केही विषय गम्भीर ढंगबाट राख्नुभएको थियो । र, मैले यी भावना तथा विचारहरूलाई गम्भीर रूपमा लिएको छु भनेको थिएँ । अहिले पनि मैले तपाईहरूले उठाएका मुद्दाहरूलाई गम्भीर रूपमा नै लिएको छु ।
हामी कमजोर छैनौँ । हाम्रो आन्दोलन कमजोर छैन । माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले पनि कमजोर छैन । हामी विभिन्न धारामा भए पनि यिनीहरू एकठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, अनि घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन् ।
हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखेकै कुरा हो, त्यो बेला पनि हामीविरूद्ध ठूलो घेराबन्दी गरिएको थियो । त्यसकारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने हामी सबैलाई जुन वोध भएको छ, यो एउटा शक्ति ठान्छु । म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु । एकचोटी माओवादी एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन् । माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरू गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन, म विशेष रूपमा तपाईहरूलाई अपील गर्दछु– दृढ संकल्पका साथ एकठाउँ उभिउँ ।
काठमाडौंकै जगडोलमा सम्पूर्ण सहिदहरू र बेपत्ता योद्धाहरूको समृति र सरकारबाट घोषणा गरिएका सहिदहरूको नाम उल्लेख गरिएको पार्क उद्घाटन गरिसकेको छु । यो आफैमा ठूलो परिघटना हो । फागुन १ गतेलाई जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक निर्णय र वैधानिक घोषणा भयो । यो आफैमा अर्को एउटा कोशेढुङ्गा नै हो । जनयुद्ध, यसका सहिदहरू र बेपत्ता योद्धाहरूका त्याग तपस्या र बलिदानलाई स्थापित गर्न कुरामा सरकार दृढतापूर्वक लागिरहेको छ । अहिले पटकपटक गरिएका सहिद घोषणालाई राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको छ । यी सबै निर्णयहरूले के कुरालाई राम्रोसँग संकेत गरेको छ भने हजारौं सहिद तथा बेपत्ता योद्धाहरू र तिनका सपनाहरू कसैले जबर्जस्ती बदनाम गर्न खोज्दैमा वा दबाउन खोज्दैमा त्यो दबिनेवाला छैन ।
फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने योजना जनयुद्धकालदेखि नै सुरू गरिएको थियो । झापा विद्रोह र जनयुद्धलाई जोड्ने उद्देश्यका साथ सुरू गरिएको सहिद सप्ताह यसपटक पनि विविध रूपमा मनाइएको छ । त्यसकारण जनयुद्ध र यसका उपलब्धि दबिनेवाला छैनन् । केही भूतप्रेतहरू बाटोमा निस्किँदैमा इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने कुरा हुँदैन ।
अहिले सरकारको तर्फबाट सहिद तथा वेपत्ता योद्धालाई सम्मान गर्ने प्रक्रिया जसरी एकपछि अर्कोगरि अगाडि बढेको छ, यसबाट प्रतिक्रियावादीहरू आतंकित भएका छन् । तिनीहरू फेरि एकपटक माओवादीसँग तर्सेका छन् । त्यसकारण माओवादीका विरूद्ध तथानाम गालीगलौज गर्ने, विभिन्न खालका षड्यन्त्रहरू गर्ने, बदनाम गर्ने फेरि प्रयास गरेका छन्, जुन कुरा हिजो हामी जनयुद्धकाल र शान्तिकालमा पनि पटकपटक देखेका छौं । भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीतिविरूद्ध भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनीति हो । हामी यसरी नै गएका छौँ । यो तथ्य नेपालको इतिहासमा स्थापित भएको छ ।
अहिले माओवादीहरू एकठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्मान गर्ने संकल्प ग¥यौँ भने त्यो दिन फेरि आउनेछ, जहाँ हाम्रो नयाँ विजय हुनेछ । मैले विभिन्न उतारचढाव, घुम्तीमोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर पाएको छु । संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ । यस कुरामा अहिले प्रहार हुँदैछ । यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि हामी माओवादीहरू फेरि एक ठाउँमा आउन जरूरी छ ।
माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो । हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामीलाई कसैले पनि कमजोर सावित गर्ने नसक्ने गरी बलियो हुन्छौँ । सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन ।
जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दबाब र घेराबन्दीका विरूद्ध म लडिराखेको छु । बाबुरामजी, विप्लवजी, धर्मेन्द्रजी पनि लडिराखेकै देखेको छु । पहिला जस्तो छैन घटनाक्रमहरू, हामी आ–आफ्नै ढङ्गले लडिराखेकै छौँ । अब हामी सबै एकठाउँ भएर लड्यौँ भने यो अजरअमर हुन सक्छ । अनिमात्रै हामी सहिद बेपत्ता योद्धाप्रति इमानदार भएको ठहरिन्छ । त्यसकारण तपाई सहिद तथा बेपत्ता योद्धाका परिवारहरूले माओवादी आन्दोलनका भङ्गालाहरू एकठाउँ ल्याउन जुन कोशिस गर्नुभएको छ, त्यो धेरै ठूलो कुरा छ । यस कार्यक्रमपछि नयाँ शिराबाट हाम्रो वार्ता सुरू हुनेछ, हामी एकता वा मोर्चाका रूपमा नयाँ ढंगले अगाडि बढ्छौँ ।