चितवन । माडी-८, कान्तिपुर गाउँमा रहेको सुर्योदय कृषि सहकारी संस्थाद्वारा २०७५ सालदेखि सुरु भएको सामुहिक खेती यतिबेला ओझेल परेको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सामुहिक खेती प्रवर्द्धन कार्यक्रम अन्तरगत माडीमा चक्लाबन्दीमा आधारित सामुहिक खेती सुरू भएको हो । तर राज्यबाट करोडौ रकम अनुदान लिएर पनि सहकारीले उद्देश्य अनुरुप काम गर्न नसकेको र अनुदानमा पाएका श्रोतसाधनहरु समेत अलपत्र पारेको आरोप लागेको छ ।
चक्लाबन्दीमा आधारित सामुहिक खेती गर्न कृषि ज्ञान केन्द्र चितवनले कम्बाइण्ड हार्बेस्टर, ट्रयाक्टर, मिनि ट्रेलर, कल्टि भेटर, कर्नट्रेलर, थ्रेसर लगायतका कृषि उपकरणहरु दिएको भएतापनि सो उपकरणहरु अहिले खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन् । पहिलो वर्ष प्रयोगमा ल्याइएका ती उपकरण त्यसपछि सञ्चालन हुन नसकेको बुझिन्छ ।
कृषि पर्यटन (फार्म स्टे)का रुपमा सो गाउँमा ४६ वटा होमस्टे सञ्चालन गर्ने योजना रहेपनि होमस्टे घरहरुको निर्माण पुरा हुन सकेको छैन । सामुहिक माछापालनका लागि २० वटा पोखरी खनिएको भएतापनि आधाजसो पोखरी सुकेको र मर्मत हुन सकेको अवस्था छैन । चक्लाबन्दी भएका खेतहरु उब्जनीमा पूर्ण उपयोग नहुँदा गौचरनमा परिणत भएको गाउँलेहरुले बताएका छन् ।