काठमाडाैं। नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई कतैबाट पनि राष्ट्रपति बन्न प्रस्ताव नआएको जनाएको छ । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिको प्रस्ताव आएको भनेर अध्यक्ष माधवकुमार नेपालले बैठकमा ब्रिफिङ नगरेको बताए ।
‘हाम्रो पार्टीलाई राष्ट्रपतिको प्रस्ताव आएको भनेर अध्यक्षले ब्रिफिङ गर्नुभएन । त्यसको अर्थ हल्ला मात्र रहेछ भनेर बुझ्नुपर्यो,’ खनालले सञ्चारकर्मीसँग भने ।
पार्टी प्रवक्ता जग्गन्नाथ खतिवडाले पनि आफ्नो पार्टीलाई राष्ट्रपति बन्न प्रस्ताव नआएको बताए ।
‘हामीलाई कसैले राष्ट्रपतिको प्रस्ताव गरेको छैन । भोलिका दिनमा आए त्यसबारेमा छलफल गर्ने नीति लिएका छौं,’ खतिवडाले भने ।
एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रस्ताव गरेको समाचार आइरहेका बेला पार्टीका तर्फबाट यस्तो अभिव्यक्ति आएको हो ।
पार्टीको सचिवालय बैठकले राष्ट्रपतिमा सर्वसम्मतिमा जोड दिँदै आफूहरूको पनि दाबी रहने निर्णय गरेको खतिवडाले बताए ।
‘सकेसम्म आम सहमतिमा, राष्ट्रिय सहमतिमा निर्वाचन होइन निर्विरोध राष्ट्रपतिको पक्षमा हामी छौं । कसलाई बनाउने भन्नेमा सहमतिमा जान तयार छौं,’ बैठकपछि उनले भने, ‘संसदमा कोहीसँग बहुमत छैन । सबैको दाबी राष्ट्रपतिमा छ । कसको नाममा सहमति जुट्छ, हामी त्यहीँ लाग्छौं । हाम्रो पार्टीले पहल गर्नेछ । हाम्रो पार्टीको पक्षमा समर्थन गर्ने सहमति जुट्ने भएमा पार्टीले पहल गर्छ । सहमति हाम्रो नाममा हुने अवस्थामा एउटा निर्णय गरेर अघि बढछौं ।’