चितवन । माडी-७ देबेन्द्रपुरस्थित परुई खोलाको किनारमा रहेका चेपाङहरुले आवास घर पाउने आशा हराउँदै गएको बताएका छन् ।
कुसुमखोलाबाट बसाइँसराईं गरी परुई किनारमा अस्थायी घर टहरा बनाई बस्दै आएका ६० घरधुरी परिवारका लागि माडी नगरपालिकाले (प्रति घरधुरी) ३ कोठे घर र एक ओटा शौचालय निर्माण गर्ने भनिएतापनि आजसम्म निर्माण नभएको भन्दै चेपाङ अगुवा कमल चेपाङ निराशा बढेको बताउनुभयो ।
बाटोको समेत राम्रो सुबिधा नरहेको र खानेपानीका लागि चापाकल धारा जडान गरिएको भएतापनि आफूहरुले आर्सेनिक युक्त पानी पिउन बाध्य हुनुपरेको चेपाङले गुनासो गर्नुभयो । बाढीबाट प्रभावित रहँदै आएको सो बस्तीको छेउमा परुई खोला तटबन्धन सकिएसंगै बाढीको जोखिमबाट भने बस्तीलाई राहत मिलेको उहाँले बताउनुभयो ।
तर, लामो समयदेखि बिजुली बत्तीको अभावमा टुकी बत्ती बाल्नुपरेको उहाँको दुखेसो छ । घर निर्माण, खानेपानी, बिजुली र बाटोका लागि पटक पटक नगरपालिकामा डेलिगेसन जाँदा समेत आश्वासन मात्र पाएको उहाँको भनाई छ ।