चितवन । शहरी विकास मन्त्री बिक्रम पाण्डेले प्रधानमन्त्री, उपप्रधानमन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री र प्रदेश साँसद समेत नेकपा (माओवादी केन्द्र)कै रहेको बेला माडीको विकासमा सहयोग पुगेको हुनुपर्ने बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा शनिवार माडीमा सम्पन्न मन्त्री पाण्डेलाई स्वागत र सम्मान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सम्बोधनको अधिकांश समय चितवन ३(ख) का सांसद एवं माडीका निवर्तमान नगरप्रमुख ठाकुर प्रसाद ढकालप्रति कटाक्ष गर्दै उहाँले ढकाल नगरप्रमुख रहँदा नगर विकासको आवधिक योजना नबनेको र माडीका जग्गा सस्तोमा बिक्री भएको आरोप लगाउनुभएको।
देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ चितवनकै भएको, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ रहेको, बागमती प्रदेशका मुख्यमन्त्री पनि माओवादी केन्द्रकै शालिकराम जम्मरकट्टेल रहेको र चितवन क्षेत्र नं. ३ (ख) प्रदेशसभामा ठाकुर प्रसाद ढकाल रहेको समयमा नभएको काम कहिल्यै नहुने उहाँको कटाक्ष थियो ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले माडी विकासका नीतिगत र ठूला समस्या समाधानमा संघीय मन्त्रीपरिषद् जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।माडीका बहुसंख्यक समस्याहरु संघीय सरकारको क्षेत्राधिकारसंग जोडिएको उहाँको भनाई थियो । नेताहरुले सुकुम्बासीहरुलाई लालपुर्जा दिने भनी हालसम्म ढाँट्दै आएको भन्दै उहाँले लालपूर्जा दिने काम अगाडि बढाउन संघीय सरकार समक्ष अनुरोध गर्नुभयो ।
बाँदरझुलामा बिजुली लैजान करीब १ बर्षअघि नै टेण्डर भएपनि निकुञ्जका कारण काम रोकिएको स्मरण गर्दै ढकालले त्यहाँ बिजुलीको काम अगाडि बढाउन संघीय मन्त्रीपरिषद्मा प्रस्ताव लैजान पनि अनुरोध गर्नुभयो ।निकुञ्ज ऐन यथासक्या छिटो शंसोधन वा पुनर्लेखन गर्न तथा राष्ट्रिय निकुञ्ज भित्रको बाटो धुलोरहित बनाउन तत्कालै ई.आइ.ए. अगाडि बढाउन पनि संघीय मन्त्रीपरिषद् समक्ष उहाँको आग्रह थियो ।
माडीमा कालोपत्रे बाटो बनाउन, प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना अन्तरगत माडीलाई कृषि र माछाको पकेट क्षेत्र बनाउन र शहरी विकास मन्त्रालयबाट हुनसक्ने अन्य सबैखाले कामहरुमा माडीलाई विशेष प्राथमिकतामा राख्न पनि शहरी विकास मन्त्री पाण्डेसमक्ष प्रदेशसभा सदस्य ढकालको अनुरोध थियो ।
निकुञ्ज ऐन, रिउ करिडोर, सडक स्तरोन्नति, सुकुम्बासी समस्या र बाँदरझुलाको बस्ती ब्यबस्थापन वा स्थान्तरण आदिका विषयमा राजनीतिक दलका प्रतिनिधिहरूवाट आएका प्रश्नहरुको जवाफमा मन्त्री पाण्डेले सबै मिलेर यसको समाधान गर्नुपर्ने बताउनुभयो । माडीलाई डिजल र पेट्रेल इञ्जिन चल्ने क्षेत्र नभई इको र अर्गानिक क्षेत्र बनाउनुपर्ने उहाँको भनाई थियो ।