चितवन । उज्ज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रत्ननगर–१ को २१औँ वार्षिकोत्सवका अवसरमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित समिति एवं लेखा सुपरीवेक्षण समितिलाई बधाई तथा शुभकामना एवं एकदिने सहकारी शिक्षा तालिम रत्ननगरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले महिलाको नेतृत्वमा सञ्चालित उज्ज्वल महिला विकास बचत तथा ऋण सहकारी संस्थाले महिलाको नेतृत्व, व्यक्तित्व एवं सामाजिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै सामाजिक रुपान्तरण गर्ने खालका कार्यक्रम ल्याउन आग्रह गरे ।
रत्ननगरमा सञ्चालित सहकारीका बेथितिहरुबारे गुनासा आइरहेको बताउँदै उनले सहकारी संस्थाहरुलाई निरन्तर अनुगमन र नियमन गरी कानुनी दायरामा ल्याउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । समुदायको हितमा सञ्चालित सहकारीलाई नगरपालिकाले प्रोत्साहन गर्ने र धराशायी भएका सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा संस्थाका संस्थापक सदस्य सरलाकुमारी रेग्मीले २०५८ सालमा स्थापना भएको संस्थाको विगतदेखि वर्तमानसम्मका गतिविधिहरु प्रस्तुत गरिन् । उनले पाँच/पाँच जनाको समूह मिलेर स्थापना भएको संस्थामा हाल १३२२ जना महिला सदस्यलाई टेवा र सेवा प्रदान गर्दै आइरहेको चर्चा गरिन् ।
कार्यक्रममा नवनिर्वाचित चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्था (चिस्कुन)का अध्यक्ष विद्या कोइरालाले जिल्ला सहकारीमा हाल २०७ वटा संस्था आवद्ध रहेको उल्लेख गर्दै सहकारी प्रशिक्षण, क्षमता अभिवृद्धि, सहकारी शिक्षालगायत नीति, विधि र प्रविधिमा आधारित सुशासनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।
नेपालमा सुशासनमा नहिँड्ने १० हजार ४१८ सहकारी संस्था रहेको उल्लेख गर्दै सहकारीहरुको संस्थागत विकास गर्दै सुशासनमा लैजान रत्ननगरबाट सुरूवात गर्न आग्रह गरिन् ।
संस्थाका सचिव विनिता पुरीले सञ्चालन गरेको कार्यक्रममा संयोजक इन्दिरा अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । सो अवसरमा चिस्कुनका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा चिस्कुनका सचिव सुदीप रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष सम्झना घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मी गौली, पूर्वअध्यक्ष एवं चिस्कुनका सहसचिव रितु गिरी, उपाध्यक्ष चन्द्राकुमारी चौधरीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेफ्स्कुन विकू शाखाका अध्यक्ष इन्द्रज्योति पौडेलले सहकारी शिक्षा तालिमबारे प्रशिक्षण दिएका दिए ।