काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मङ्गलबार भेटवार्ता भएको छ । उहाँहरूबीच आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धि सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राख्नुभएको थियो ।
त्यस्तै, भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राख्नुभएको थियो ।
जयनगर–कुर्था रेलको सञ्चालन भारतीय कम्पनी केआरसिएलले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाउनुभएको हो ।
साथै त्यसप्रकारको रेलवे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने क्वात्राले बताउनुभयो । त्यसो गर्न सके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने क्वात्राको भनाइ थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेलवे सञ्चालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्त्वपूर्ण भएको बताउनुभयो । त्यसलाई आफूहरूले आत्मसात् गर्ने श्रेष्ठको भनाइ छ ।शिष्टाचार भेटका क्रममा रक्सौल–काठमाडौं रेलवे निर्माणसम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ ।
क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राख्नुभएको छ । जवाफमा श्रेष्ठले आफूहरूले त्यसलाई अघि बढाउने बताउनुभयो । श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे खुलेर छलफल भएको थियो । त्यस्तै, नेपाल र भारतबीच विभिन्न समयमा भएका सन्धि सम्झौताको विषयमा पनि द्विपक्षीय छलफल गरेर अघि बढ्ने छलफल भएको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाउनुभएको थियो ।