चितवन । भरतपुर महानगरपालिका–४ लंकुस्थित लक्ष्मी वैकुण्ठनाथ मन्दिरद्वारा सञ्चालित वैकुण्ठनाथ परमवैदिक विद्या प्रतिष्ठानम् (गुरुकुलम्को) सर्वाङ्गीण विकासार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ को प्रथम चरण समाप्तितर्फ उन्मुख भएको छ । पहिलो चरण माघ २८ गते शनिबार सकिँदै छ । पहिलो चरण सकिनै लाग्दा महायज्ञमा भक्तजनहरूको चाप बढ्दै गइरहेको छ ।
महायज्ञको प्रथम चरण माघ २२ देखि २८ गतेसम्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ गतेसम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम–कृष्ण कथामृत प्रवचन गर्ने आयोजकले जनाएको छ।
फागुन ६ गते शिवरात्रिसम्म चल्ने ११ करोड संकलन गर्ने लक्ष्य राखिएको सो महायज्ञ छैटौं दिनसम्म आइपुग्दा नगद र बोलकबोल गरी झण्डै १ करोड ३० लाख रुपैयाँ रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सह(सचिव डा गोपीनाथ कँडेलले बताए । आजको कार्यक्रमका प्रमुख अतिथि गुरुकुलका सल्लाहकार एवम् लक्ष्मी वैकुण्ठनाथ मन्दिरका संस्थापक भूपतिदास सापकोटाले वैदिक सनातन धर्मप्रति चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा वैदिक सनातन–धर्मसंस्कृति, राष्ट्रियताको रक्षाका लागि गुरुकुलहरू बचाउनुपर्ने कुरा उल्लेख गर्दै सहयोगका लागि सबैलाई आह्वान गरे ।
विशिष्ट अतिथिका रूपमा शेषलक्ष्मीनारायण मन्दिर क्षेत्रपुरका पीठाधीश पद्मनाभाचार्य, सुप्रसिद्ध कथावाचक नारायण न्यौपाने लगायतको उपस्थिति रहेको कार्यक्रममा मन्दिरमा गरेको सेवाको सम्मान गर्दै आध्यात्मिक व्यक्तित्व भूदेवी कंडेललाई अभिनन्दन गरिएको थियो । कार्यक्रम गुरुकुल छात्रावास निर्माण उपभोक्ता समितिका संयोजक हीरामणि खरालको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा भोलि नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीको आगमन हुने महायज्ञका मीडिया संयोजक माधव सापकोटाले जानकारी दिए ।