काठमाडौँ। काठमाडौंमा अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने ६ जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिसोर्ट अगाडिबाट मानिस अपहरणमा परेको प्रहरीलाई जानकारी आएको थियो।
सूचनापछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी टोली खटिएको थियो। तर अनुसन्धानका क्रममा अपहरणको घटना नै नभएको खुलेको थियो।
उक्त घटना अपहरण नभई लेनदेन भएको खुलेको एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका १३ का ४७ वर्षीय बिदुर बस्नेत, चितवन भण्डारा घर भई नैकाप बस्ने ३३ वर्षीय दिलिप विक, सर्लाही बरथवा ६ घर भई बालाजु बस्ने ४७ वर्षीय भोला महतो नुनिया, काभ्रेको खनियाखोला ११ का ४२ वर्षीय जगतबहादुर भोलान, बनेपाका ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ थाक्रे ५ घर भई कालिमाटी बस्ने ४४ वर्षीय आशमान लामा रहेका छन्।
उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी राठौरले बताए।