चितवन । चितवन राष्ट्रिय निकुञ्जको नवलपरासी क्षेत्रमा चोरीसिकारीले करेन्ट लगाएर गैँडा मारेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको छानबिन समितिको टोलीले स्थलगत अध्ययन गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीको नेतृत्वमा गठन भएको टोलीले सोमबार र मङ्गलबार अध्ययन गरेको छ । छ सदस्यीय टोलीले संरक्षणसँग सम्बन्धित सरोकारवाला, घटनास्थल, स्थानीय बासिन्दासँग पनि छलफल गरेको छ ।
उपमहानिर्देशक कार्कीले भन्नुभयो, “सुरक्षाका विषयमा केही कमजोरी भएको स्थलगत अध्ययनपछि देखिएको छ, विस्तृत विवरण हामी अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्ने छाैँ, सुरक्षामा केही कमजोरी भएको निश्चित हो ।”
अध्ययन टोलीले घटनाको विषयलाई लिएर सातवटा समूहगत छलफल गरेको छ । घटना स्थलका स्थानीय, त्यस क्षेत्रका नेपाल प्रहरी, सुरक्षार्थ सेना, अन्य समुदायसँग घटनाको विषयमा केन्द्रित रहेर अध्ययन गरिएको टोलीले बताएको छ । घटनास्थल हेर्दा गैँडा मारिएको स्थानबाट तीन किलोमिटर टाढा सेनाको भुताहा पोस्ट, चार सय मिटर टाढा मानवबस्ती रहेको छ ।
अध्ययन टोलीका अनुसार अघिल्लो दिन सेनाले त्यही स्थानबाट गस्ती गरेको थियो । गैँडा मरेको स्थान सेनाले गस्ती गर्ने बाटो पनि हो । बस्तीनजिकै रहेको मन्दिरबाट बिजुलीको तार ल्याएर गैँडालाई करेन्ट लगाएर मारेको हुन सक्ने देखिएको छ ।
घटनास्थलबाट चोरीसिकारीले प्रयोग गरेका सामग्रीहरू सुरक्षाकर्मीले बरामद गरेर अनुसन्धान गरिराखेको छ । घटनास्थलको प्रकृति हेर्दा सुरक्षामा चासो देखाएको भए त्यो घटना हुन नसक्ने देखिएको छ, उपमहानिर्देशक कार्कीले भन्नुभयो ।
टोलीले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाका प्रमुखसँंग अलग–अलग र संयुक्त छलफल गरेको छ ।
निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत भुताहा पोस्टनजिक मध्यबिन्दु नगरपालिका–२ मा नारायणी नदीको उत्तरी किनारमा अन्दाजी १४ वर्षको पोथी गैँडा र अर्को अन्दाजी चार वर्षको भाले बच्चा गैँडा मृत भेटिएका थिए । यही माघ ६ गते दिउँसो फेला परेको गैँडाको पोस्टमार्टम गर्दा करेन्ट लागेर मरेको पुष्टि भएको छ । माउ गैँडाको खाग काटेर लगेको थियो भने बच्चाको सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।