चितवन । चितवन आएका नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले बुधबार जिल्लाका सञ्चारकर्मीसँग साक्षात्कार गरेका छन् । केहि दिनअघि मात्र जिल्लाको जिम्मेवारी सम्हालेका सिडिओ पौडेलले राष्ट्रिय परिचयपत्र र राहदानी वितरण सहज बनाउने बताएका छन् ।
‘पासपोर्टका लागि एक महिनामा ३ हजार जनाले एकैचोटी अग्रिम अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘यसका लागि दैनिक १ सय २० जनाले सेवा लिन सक्नेछन् ।’ साथै उनले राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिएको बताए ।
सो अवसरमा बोल्दै प्रजिअ पौडेलले चितवन देशकै केन्द्रबिन्दु रहेकोले पनि यहांँ चुनौतिसंँग अवसर प्राप्त हुने बताए । चितवनमा आफू रहँदा धेरै अनुगमन र हैरानी गर्ने भन्दा पनि शुसासनको प्रणाली स्थापना गर्ने तर्फ बढी ध्यान केन्द्रित गरिने उनको भनाई छ । बिगत २८ बर्षदेखि गृह मन्त्रालय अन्तरगत विभिन्न भुमिकामा रहेर काम गर्दै आएका पौडेल धनुषाको सिडियोबाट सरुवा भई केही दिन अघि मात्र चितवन आएका हुन् ।
पत्रकारसँगको साक्षात्कार कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारीद्वय चिरञ्जीवी शर्मा र राजु पौडेलको पनि सहभागिता थिए ।