चितवन। भ्रष्टाचारविरुद्ध अभियान नेपाल चितवनले भरतपुर महानगरपालिकाको समन्वय तथा सहयोगमा भ्रष्टाचारविरुद्ध सहयोगी समूहहरुबीच कार्यप्रगति समीक्षा एवं भावी कार्यक्रम तर्जुमा गोष्ठी आयोजना गरेको छ । सोमबार भरतपुरमा आयोजना गरिएको गोष्ठीमा भरतपुर महानगरपालिकाभित्र रहेका सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कसरी भ्रष्टाचारमुक्त बनाउन सकिन्छ भनेर बृहत् छलफल भएको छ ।
गोष्ठीलाई उद्घाटन गर्दै भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले ‘भ्रष्टाचार एक अजीवको प्राणघातक भाइरस’ भएको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले भने, ‘भ्रष्टाचार भन्ने भाइरस तपाइँ हाम्रो अघिपछि चारैतिर फैलिरहेको छ,’ त्यसको लागि हामी एन्टिभाइरसको रुपमा प्रस्तुत हुन जरुरी छ ।’
तपाइँ हामीबाटै भ्रष्टाचार सुरु भएको हुँदा अब तपाइँ हामीबाटै यसको अन्त्य हुन जरुरी छ, उनले भने । सबै क्षेत्रमा निगरानी राख्न सके मात्रै भ्रष्टाचार न्यूनीकरण हुने पनि उनको दाबी थियो । भ्रष्टाचार भन्ने शब्दलाई हामी जति घृणा गर्छौँ, त्यसलाई बोलीमा मात्रै नभएर व्यवहारमा उतार्न सकेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
‘सरकारी तथा गैरसरकारी निकायहरुमा भएका कामका प्रगतिका बारेमा प्रश्न मात्रै उठाउन सकियो भने पनि धेरै हदसम्म भ्रष्टाचार न्यूनीकरण हुनेछ’, उनले भने । आर्थिक चलखेलमा मात्रै नभई हरेक गतिविधिमा भ्रष्टाचार हुने गरेको उनको तर्क थियोे । उपप्रमुख अधिकारीले एक जनाको प्रयासबाट मात्रै भ्रष्टाचार रोक्न नसकिने अवस्था रहेकाले राज्यका सबै भ्रष्टाचार न्यूनीकरणका लागि क्रियाशील हुन जरुरी रहेको जिकिर गरे ।
उक्त गोष्ठीमा अधिवक्ता इन्दु कोइरालाले सूचनाको हकका सम्बन्धमा प्रकाश पारेकी थिइन् । कोइरालाले स–साना सूचनाहरुलाई लुकाउँदा र राज्यलाइ समयमै आफूसँग भएका सूचनाहरु नदिँदा समाजमा भ्रष्टाचार बढ्दै गएको यथार्थ प्रष्ट पारिन् ।