चितवन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयलाई प्रदेश सरकारबाट यथासम्भव सहयोग गर्ने बताउनुभएको छ ।
विद्यालयले भव्यतापूर्वक मनाएको ५१औं बार्षिकोत्सव एवं अभिभावक दिवस कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै मन्त्री मोक्तानले सो आश्वासन दिनुभएको हो ।
कार्यक्रममा प्रदेशसभा सदस्य ठाकुर ढकाल, माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नेकपाका केन्द्रीय नेता सन्देश पाैडेल लगायतको आतिथ्य रहेको थियो ।
बार्षिकोत्सव समारोहमा उत्कृष्ट अभिभावकका रुपमा देवी कुमारी क्षेत्री र मञ्जु आचार्य, गत एस.ई.ई. परीक्षामा माडीकै प्रथम र दोश्रो हुन सफल विद्यार्थी अपेक्षा तिवारी र शसांक वाग्ले तथा उत्कृष्ट बर्ष विद्यार्थीका रुपमा कृतिका लामिछानेलाई सम्मानित गरिएको थियो ।
यसैबीच माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा २४ कोठे नयाँ भवनको शिलान्यास भएको छ ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विद्यालयको ५१औं बार्षिकोत्सवका अवसरमा २४ कोठे नयाँ विद्यालय भवनको पहिलो तल्लाको निर्माण शिलान्यास गर्नुभएको हो । संघीय सरकारको १ करोड २३ लाख ७० हजार लागत सहयोगमा सो भवनको निर्माण सुरु भएको हो ।