चितवन । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरभित्र भएका पछिल्ला विकास निर्माणका आयोजनाहरुको अनुगमन गरेका छन् । शुक्रबार उपप्रमुख अधिकारीले महानगरभित्र चालू अवस्थामा रहेका साना तथा ठूला आयोजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।
उपप्रमुख अधिकारीको नेतृत्वमा विभिन्न आयोजनाहरुको स्थलगत अनुगमनमा निस्किएको महानगरको टोलीले भरतपुर‡२९ मा रहेको पात्लेबास र कविलासचोकमा भइरहेको सडक, माटोको अवस्था र त्यसबाट निस्कने ग्राबेलको विशेष निगरानीका साथ अनुगमन गरेको छ ।
त्यस्तै, सिमलतालदेखि डुम्रेबेँसीसम्म आठसय मिटरको निर्माणाधीन सडकको पनि उक्त टोलीले स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।
ती आयोजनाहरुको विशेष अनुगमन गर्दै उपप्रमुख अधिकारीले विकास निर्माणका आयोजनाहरुमा ढिलाइ गर्ने, लापर्बाही गर्ने र राजनीति गर्न खोज्नेलाई महानगरले कडारूपमा कारबाही गर्ने चेतावनी दिए । ‘विकास निर्माणमा अवरोध पु¥याउन खोज्ने र पु¥याउने दुवैलाई अब कारबाही हुन्छ’, उपप्रमुख अधिकारीले भने, ‘अब तेरो या मेरो भनेर विकासका काममा ढिलासुस्ती गर्ने ठेकदारहरुलाई क्रमैसँग महानगर कारबाहीमा उत्रिन्छ ।’ अब कुनै पनि बहानामा कसैले पनि छूट नपाउने उनको चेतावनी थियो ।
पछिल्लो समय भरतपुर महानगरको तीव्र विकास हेर्न आउने जनप्रतिनिधि तथा कर्मचारीहरुको क्रम बढिरहेको बताउँदै उपप्रमुख अधिकारीले विकासको नमुना अब भरतपुर महानगर नै बन्नेमा कुनै शङ्का नरहेको पनि जिकिर गरे । गत जेठ महिनादेखि पुस मसान्तसम्म भरतपुर महानगरको तीव्र बिकास हेर्न आउने अन्य पालिकाका जनप्रतिनिधिहरुको संख्या झण्डै एकदर्जनभन्दा बढी रहेको भरतपुर महानगरले जनाएको छ । यो संख्या अघिल्लो वर्षहरुको तुलनामा झण्डै दोब्बर रहेको महानगरको दाबी छ ।
अनुगमन समितिका संयोजकसमेत रहेका उपप्रमुख अधिकारीले विकासको गतिमा भरतपुर महानगरलाई देशकै उच्च स्थान पु¥याउने गरी महानगरले प्रक्रिया अगाडि बढाइरहेको पनि प्रष्ट पारे ।
अनुगमनमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सिनियर डिभिजन इन्जिनियर लक्ष्मीप्रसाद भण्डारी, राजस्व शाखा प्रमुख बिसुराम कुँवर, उपप्रमुखको स्वकीय सचिव कृष्णप्रसाद बगाले, प्रेस सल्लाहकार आशिष अधिकारीलगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।