कलैया। जिल्ला प्रहरी कार्यालय बाराले सोमबार एक दिनमै ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।
अदालतबाट कैद तथा जरिवानाको फैसला भइ लामो समयदेखि कानुनी कारबाहीको दायराबाट भाग्दै आएका ३६ फरार प्रतिवादीहरूलाई सोमबार पक्राउ गरी करागार चलान गरिएको बाराका प्रहरी नायव उपरीक्षक प्रकाश थापाले जानकारी दिए । बारा प्रहरीले ३६ जना कैद भुक्तान गर्नुपर्नेसहित कुल ३ सय ३२ जना फरार प्रतिवादीहरूको कारबाही प्रक्रिया टुंगोमा पुर्याएको छ ।
प्रहरीले अधिकतम ६ वर्ष ५ महिना १० दिन कैद सजाय भएका कलैया उमहानगरपालिका–१ बस्ने विजय दासदेखि बैकिङ्ग कसुर मुद्दामा ७ लाख जरिवाना सजाय भएका पचरौता नगरपालिका–२ बस्ने एजाजुल हक अंसारी, हातहतियार खरखजाना मुद्दामा कैद सजाय भएका निजगढ नगरपालिका–१ बस्ने बासु चौधरीलगायतलाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।
पक्राउ परेकामध्ये ३६ जनालाई कैद मुक्तानका लागि पर्सा कारागार कार्यालय चलान गरिएको र बाँकीलाई तोकिएको सजायअनुसार जरिवाना तिराएर छोडिएको एसपी थापाले बताए । प्रहरीले फैसला कार्यान्यनलाई अभियानको रुपमा संचालन गरेको थापा बताउँछन् ।