चितवन । बागमती प्रादेशिक एवं दोस्रो खैरहनी महोत्सवमा शनिबार हजारौँ अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।आयोजक उद्योग वाणिज्य संघ खैरहनीका अनुसार शनिबार एकैदिन २० हजारभन्दा बढीले महोत्सवको अवलोकन गरेका छन् ।
महोत्सवको दोस्रो र तेस्रो दिनको तुलनामा चौथो दिन उत्साहजनकरूपमा अवलोकनकर्ताहरुको उपस्थिति रहेको संघका अध्यक्ष एव महोत्सवका संयोजक दिपेन श्रेष्ठले जानकारी दिए ।
‘सुरूका दिनमा सन्तोषजनक उपस्थिति रह्यो’, महोत्सवका संयोजक श्रेष्ठले भने, ‘शनिबारको उपस्थितिले हौसला दिएको छ, अब अवलोकनकर्ताको चाप बढ्नेमा ढुक्क छौँ ।’
महोत्सवमा विशेष आकर्षणको रूपमा ‘सेल्फी जोन’ रहेको छ । त्यहाँ अत्याधिक मानिसको भीड लाग्ने गरेको छ । सेल्फी जोनमा लोपोन्मुखलगायत अन्य जनावरहरुको मूर्ति राखिएको छ । शनिबार कलाकार अस्मिता अधिकारी, मनोज महतो, सुरज कालाखेतीलगायत कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहेको थियो ।
कृषि, पर्यटन र उद्योगलाई प्राथमिकता दिएर उद्योग वाणिज्य संघ खैरहनी र नेपाल उद्योग वााणिज्य संघ बागमती प्रदेशको संयुक्त आयोजनामा आयोजित महोत्सव माघ १५ गतेसम्म चल्नेछ ।
यसैबीच, महोत्सव घुम्न आउनेहरुका लागि आयोजकले उपहारको व्यवस्था मिलाएको छ । टिकट काटेर महोत्सव घुम्नेमध्ये ३ जनालाई उपहारको व्यवस्था गरिएको संघका महासचिव केदार बर्तौलाले जानकारी दिए ।
अवलोकन गर्नेहरुमध्येबाट लक्की ड्र गरेर स्कटुर, वासिङ मेसिन र स्मार्ट टिभी प्रदान गरिने आयोजकले जनाएको छ । ५० रुपैयाँको टिकट काटेर महोत्सव अवलोकन गर्नेहरुमध्ये एकजना भाग्यमानीले बम्पर उपहारमा यामाहाको स्कुटर प्राप्त गर्ने महासचिव बर्तौलाले बताए । लक्की ड्रमार्फत नै वासिङ मेसिन र स्मार्ट टिभीसमेत उपहार प्रदान गरिनेछ ।
त्यस्तै, खैरहनी महोत्सवको टिकटले पर्साबजारमा रहेको म्याङ्गो जनज्योति हलमा चलचित्र हेर्दा ५० रुपैयाँ छूट पाइने छ । अवलोकनकर्ताले आफूले काटेको टिकट सुरक्षित साथ राख्नुपर्ने र पछि लक्की ड्रमा विजेता भएपछि टिकट लिएर आएमात्रै उपहार पाइने महोत्सवको प्रचारप्रसार समितिका संयोजक प्रशान्त अधिकारीले जानकारी दिए ।
त्यस्तै, महोत्सवको टिकटले पर्साबजारमा रहेको मेगा पोलिक्लिनिकमा सेवा लिँदा १० प्रतिशत छूट, चितवन डेन्टलमा सेवा लिँदा १० प्रतिशत छूटको व्यवस्था गरिएको संयोजक अधिकारीले बताए ।