चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका नदी तथा खोलामा आश्रित विपन्न समुदायलाई कुखुराको खोर प्रदान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा लोथर उपभोक्ता समितिले यहाँका १५ घरधुरीलाई एक–एक थान खोर प्रदान गरेको हो ।
लोथर उपभोक्ता समिति अध्यक्ष मानबहादुर स्याङ्बोले विपन्न समुदायले दैनिकी टार्न खोलामा आश्रित हुनु परेको बताए । ‘आफ्नो गुजारा टार्न अझै पनि खोलामा भर पर्नुपर्छ’, समिति अध्यक्ष स्याङ्बोले भने, ‘खोलामै जानुपर्ने बाध्यता अन्त्य गर्दै उनीहरुको आयआर्जनका लागि कुखुरा पाल्ने खोर दिएका हौँ ।’ यस क्षेत्रका विपन्न समुदाय खोलामा माछा मार्ने, खोलाबाट ढुङ्गा टिपी बेचेर दैनिकी चलाउँदै आएको अध्यक्ष स्याङ्बोले बताए । पहिलो चरणमा १५ वटा परिवारलाई खोर प्रदान गरिएकोमा आवश्यकताका आधार र प्रभावकारितापछि अन्यलाई पनि प्रदान गरिने उनले बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि ऋषि सुवेदीले खोलामा आश्रितलाई जीविकोपार्जनमा नजोडेसम्म संरक्षण हुन नसक्ने बताए । संरक्षणमा जोड्नकै लागि विपन्न परिवारलाई खोर सहयोग गरिएको उनले बताए । उनका अनुसार एउटा खोर निर्माणका लागि २० हजार रूपैयाँ खर्च भएको छ । खोलामा माछा मार्ने क्रम नरोकिएको भन्दै सुवेदीले लोपोन्मुख घडियाल गोही सङ्कटमा परेको बताए । माछा मार्न प्रयोग हुने तियारी जालका कारण गोही त्यसैमा परेर मर्ने गरेको उनको भनाइ छ । अहिले घडियाल गोही अधिकांश राप्ती नदीमा देख्न सकिन्छ ।
राप्ती–१ का वडा अध्यक्ष सिद्धिलाल स्यान्तानले मानव र वन्यजन्तुको द्वन्द्व घटाउन निकुञ्ज र खोलाआसपासका स्थानीयलाई संरक्षणका बारे जानकारी गराउँदै आयअर्जनमा संलग्न गराउनुपर्ने बताए ।
राप्ती नगरप्रमुख शमशेर लामाले जनतालाई उत्पादनसँग जोड्ने गरी नगरपालिकाले कार्यक्रम ल्याएको बताए । आर्थिक अवस्था कमजोर भएकाहरुको आयआर्जनमा टेवा पु¥याउन नगरले सीपमूलक तालिम प्रदान गरिरहेको पनि उनले बताए ।‘सीप सिकेर थोरै लगानीमा पनि आम्दानी गर्न सकिन्छ’, नगरप्रमुख लामाले भने, ‘आवश्यक अन्य सहयोग नगरले दिन्छ, जनताले इमानदारितापूर्वक काम गर्नुपर्छ ।’
समिति उपाध्यक्ष अशोक शाक्यले संस्थाले गरेको सहयोग शिक्षा र सचेतनाको रुपमा लिनुपर्ने बताए । समिति अध्यक्ष मानबहादुर स्याङ्बोको अध्यक्षतामा बिहिबार भएको कार्यक्रममा समितिका सल्लाहकार बाबुराम पाठक, साना किसान कृषि सहकारी संस्था पिप्लेका अध्यक्ष कृष्णबहादुर गुरूङ, समिति कोषाध्यक्ष चिरन पाठकलगायतले मन्तव्य राखेका थिए ।