चितवन । नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले नेपाली कांग्रेस चितवनको कार्यालयमा आज तालाबन्दी गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले एकलौटी ढंगले नेविसंघ चितवनको नेतृत्वको नाम केन्द्रमा पठाएको भन्दै रुष्ट विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेविसंघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारीले मनलाग्दी रुपमा एक जनाको नाम मात्रै केन्द्रमा सिफारिस गरिएकोले विरोध स्वरुप तालाबन्दी गरिएको बताए ।
‘जिल्ला उपाध्यक्ष म पनि हुँ, तर छलफल बिना नै अन्य आकांक्षी हुँदाहुँदै एक जनाको नाम मात्रै केन्द्रमा पठाउनु बदमासी हो’ भण्डारीले भने । अर्का विद्यार्थी नेता अनिश पन्तले विद्यार्थीहरुको भावना विपरीत नेतृत्वले एकलौटी गर्न लागेकाले विरोध गरिएको बताए । उनले आफूहरुको माग सुनुवाई नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।
विद्यार्थीहरुले सभापति खनालको कार्यकक्षको मुल ढोका र अन्य पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । विद्यार्थीहरुले तालाबन्दी गर्नुअघि सभापति खनालले विद्यार्थीहरुले कार्यकक्षमै छलफल गरेका थिए । सो क्रममा सभापति खनालले सबैको सहमतिमा नाम सिफारिस गरेको बताएका थिए । तर कांग्रेस पदाधिकारीभित्रै सिफारिसको सम्बन्धमा विवाद उत्पन्न भएको छ ।
कांग्रेस जिल्ला उपसभापति राजीव न्यौपानेले नेविसंघको विवाद समाधान र नाम सिफारिसका लागि ९ जनाको समिति बनाए पनि समितिमा कुनै छलफल बिनानै एकलौटी ढंगले नाम केन्द्रमा सिफारिस गरिएको आरोप लगाए । ‘कसको नाम सिफारिस भयो भएन भन्ने हाम्रो आपत्ति होइन, समिति र पदाधिकारी बैठकमा छलफल नै नगरि हेपाहा प्रवित्तिले अघि बढेकाले हाम्रो विमत्ती हो’ उपसभापति न्यौपानेले भने ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले गत असोज २७ गते पत्र पठाउँदै नेविसंघ चितवनमा भएका नेताहरुको उमेरहद र अन्य वस्तुस्थिति बारे जानकारी माग गरेको थियो ।