काठमाडाैं। आज प्रतिनिधिसभा बैठक बस्दैछ । आज बस्ने बैठकले नयाँ सभामुख पाउने छ । सभामुखको अनुपस्थितिमा अहिलेसम्म ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले संसद बैठकमा अध्यक्षताको आसनमा बस्दैआएका छन् । आज बिहीबार हुने निर्वाचनमा सत्ता साझेदार दल र नेपाली कांग्रेससहित सरकार बाहिर रहेका दलबीच प्रतिस्पर्धा हुँदैछ ।
सत्ता साझेदार दलबाट एमालेका देवराज घिमिरे साझा उम्मेदवार बनेका छन् । त्यस्तै, विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा आफ्नो उम्मेदवारी दर्ता गराएकि छन् ।
घिमिरेको प्रस्तावकमा सांसदहरु सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने रहेका छन्। सोहीअनुसार न्यौपानेको प्रस्तावकमा सांसद विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यता कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन् । २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत प्राप्त गर्नुपर्छ । सत्ता साझेदार दलसँग स्पष्ट बहुमत देखिएकाले घिमिरेलाई सहज हुने देखिएको छ । प्रतिनिधिसभा बैठक आज ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।