काठमाडौँ। हाल (बुधबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
बुलेटिनअनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपात तथा तराईका भूभागमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।